बाँकेमा ३८ ग्राम ७५० मिलिग्राम ब्राउनसहित दम्पती पक्राउ
बाँके, १७ साउन ।
बाँके प्रहरीले ३८ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक दम्पतीलाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१९, कटलियाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कटलिया निवासी ३० वर्षीय सुरेश बर्मा र उनकी २४ वर्षीया पत्नी अनिता बर्मा रहेको बाँके प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।
लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बर्माको घरमा ‘खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको उनले बताए । खानतलासीका क्रममा सुरेशको साथबाट ३७ ग्राम ५५० मिलिग्राम र अनिताको साथबाट १ ग्राम २०० मिलिग्राम गरी जम्मा ३८ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको छ,’ डिएसपी राठौरले भने ।
उनीहरूलाई लागूऔषधसम्बन्धी कसुरमा पक्राउ गरी थप अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको उनले बताए । ‘अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थप भएको छ । प्रहरीले बरामद भएको पदार्थको बारेमा अनुसन्धान गरिरहेको छ,’ उनले भने ।
प्रहरीले उनीहरूको साथबाट युपी ४० बीपीओ २५७ नम्बरको पल्सर मोटरसाइकल र ओप्पो कम्पनीको एक थान मोबाइल समेत बरामद भएको जनाएको छ ।







