सिरहामा वडाध्यक्ष र रास्वपाका वडा सभापति पक्राउ

0
19


बाँके ,९ कार्तिक । सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति दानिश खान सार्वजनिक शान्तिविरुद्धको कसुरसम्बन्धी घटनामा पक्राउ परेका छन्। गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
के हो घटनाको पृष्ठभूमि?
प्राप्त समाचार विवरणअनुसार, गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनापछि साउन १४ गते सिरहाको गोलबजारमा पनि दुई समुदायबीच तनाव, तोडफोड तथा आगजनीको घटना भएको थियो। उक्त घटनामा वडाध्यक्ष सोहेब अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थासँग आबद्ध केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा प्रहरीले अनवरविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी पक्राउ अनुमति लिएको समाचारमा उल्लेख छ। प्रहरीले उनलाई आइतबार राति गोलबजार क्षेत्रबाट पक्राउ गरेको हो।
रास्वपा वडा सभापति दानिश खान पनि पक्राउ
यसै घटनासँग सम्बन्धित आरोपमा रास्वपा गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खान पनि पक्राउ परेका छन्। गत साउन १४ गते भएको तोडफोड तथा आगजनीमा खानको समेत मुख्य भूमिका रहेको आरोप लगाउँदै उनीविरुद्ध करिब दुई महिनाअघि जाहेरी परेको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार खानलाई गोलबजार क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको बताईएकाे ।