नरैनापुरमा नापी तथा मालपोत सेवा सुरु, गाउँपालिका अध्यक्ष शाह र प्रमुख प्रशासकीय अधिकृत वलीद्वारा संयुक्त उद्घाटन

0
33


नरैनापुर,१९ कार्तिक । लामो समयदेखि नापी तथा मालपोतसम्बन्धी कामका लागि नेपालगन्ज धाउनुपर्ने बाध्यता झेल्दै आएका नरैनापुरवासीका लागि अब आफ्नै गाउँपालिकाबाट भूमिसम्बन्धी सेवा प्राप्त गर्ने बाटो खुलेको छ। नरैनापुर गाउँपालिकामा आजदेखि भूमि व्यवस्थापन शाखामार्फत मालपोतसम्बन्धी सेवा औपचारिक रूपमा सुरु भएको छ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले संयुक्त रूपमा भूमि व्यवस्थापन शाखाको उद्घाटन गर्दै सेवाको शुभारम्भ गरेका हुन्।
यसलाई स्थानीयवासीले गाउँमै सरकारी सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
नरैनापुर गांउपालिकामा कार्यरत सहायक प्रशासकिय अधिकृत तथा भूमि व्यवस्थापन शाखा नरैनापुरका मालपोत अधिकृत जीवनलाल यादवका अनुसार पहिलो चरणमा शाखाबाट लिखत पारित, बकसपत्र, शेषपछिको बकसपत्र, दर्ता नामसारी, अंशबण्डा, मानो जोडिएको पारित तथा मानो छुट्टिएको पारित लगायतका सेवाहरू प्रदान गरिनेछ।
सेवा सञ्चालनमा आएसँगै जग्गासम्बन्धी सामान्य कामका लागि समेत नेपालगन्ज पुग्नुपर्ने बाध्यता कम हुने र नागरिकको समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका लेखा शाखाका लेखा अधिकृत प्रकाश अधिकारी, राजस्व शाखाका मुकद्दर अली मुकेरी, सूचना शाखाकी जुना शाही, नरैनापुर ४ नम्बर वडाका वडाध्यक्ष मनोज कुमार शर्मा,२ नम्वर वडाका वडाध्यक्ष मसुद अलि शाह तथा नेकपा एमाले नरैनापुरका सचिव विनय दीक्षित , जसपा नेपालका कमसर खान लगायतको सहभागिता रहेको थियो।
संघीयताको मूल मर्मअनुसार राज्यका सेवा तथा सुविधाहरू नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यलाई यो पहलले थप सार्थक बनाएको छ। ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने अवधारणा व्यवहारमै कार्यान्वयन हुन थालेको अनुभूति नरैनापुरवासीले गर्न थालेका छन्।
नापी तथा मालपोत सेवा स्थानीय तहमै सुरु हुनु नरैनापुरको प्रशासनिक तथा विकास यात्रामा एउटा महत्वपूर्ण उपलब्धि हो। यस सकारात्मक पहलका लागि गाउँपालिका नेतृत्व तथा सेवा सञ्चालनमा सहयोग गर्ने सम्पूर्ण पक्षप्रति स्थानीयस्तरबाट आभार व्यक्त गरिएको छ