ल्याक्टोमिटर नियमन गर्ने निकाय नहुँदा मारमा दुग्ध उत्पादक किसान

0
4

बाँके, १४ असोज ।
डुडुवा गाउँपालिका ३, हल्कारापुर्वाका किसान आफूहरु डेरी उद्योगबाट ठगिदै आएको गुनासो गरेका छन् । डेरी उद्योगले दुधको गुणस्तर (ल्याक्टो) मापन गर्ने उपकरणमा गड्वडी गरेर किसानलाई ठग्दै आएको हल्कारापुर्वाका जोगीलाल यादवले बताए ।
उनले दुधमा मिसावट नगरि दुग्ध उद्योगमा लैजाँदासमेत ल्याक्टोको परिणाम कम आउने गरेको बताए । उनले डेरी उद्योग तथा संकलन केन्द्रले दुधको गुणस्तरियता मापन गर्ने मेसिनमा गड्बड गर्दै आएको बताए । ‘सरकारले दुधको दररेट कायम गरेको छ, तर डेरी उद्योग र संकलन केन्द्रले ल्याक्टो मिटरमा गड्बडी गरेर दुधको गुणस्तर कम गराई दिन्छन्,’ उनले भने, ‘कुनै मिसावट नगरि लैजाँदासमेत ६०–७० भन्दा माथि जाँदैन । यसतर्फ सम्बन्धित निकायको ध्यान जावस् ।’
उनले ल्याक्टो मिटर जाँच गर्ने निकायको बारेमा समेत जानकारी नभएको बताए । ‘हामी धेरै मारमा छौँ, तर यसको नियमन गर्ने निकायको बारेमा अनविज्ञ छौँ,’ उनले भने ।
गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका प्रमुख सन्तोष शर्माले पनि ल्याक्टो मिटर जाँच गर्ने उपकरण नियमन गर्ने आफ्नो अधिकार भित्र नपर्ने बताए ।
किसानले दुधको गुणस्तरियता मापन गर्ने उपकरणको अनुगमन र निरीक्षणका लागि अनुरोध गरेको बताउँदै उनले अधिकार क्षेत्रभन्दा बाहिर पर्ने भएकोले नियमन गर्न नसकिएको जानकारी दिए । ‘अन्य खाद्य बस्तु जस्तै दुधको गुणस्तरियता मापन गर्ने यन्त्रको नियमन गर्ने अधिकार गुणस्तर तथा नापतौल कार्यालयलाई हुनुपर्ने हो । ऐन तथा नियमावलीमा कतै उल्लेख नभएका कारण ल्याक्टो मिटरको निरीक्षण तथा अनुगमन गर्न सकेका छैनौँ,’ उनले भने, ‘निरीक्षण र अनुगमनका लागि माग भइरहेको छ, तर अधिकारले नदिँदा पछाडी हट्न परेको छ ।’
उनले सुनको गुणस्तर मापन गर्ने यन्त्रको पनि नियमन गर्ने अधिकार नभएको बताए । उनले सुनको गणस्तरियता मापन गर्ने टन्च उपकरण सुन व्यवसायीसँग भएको बताउँदै कुन सुनका गुणस्तरियता कस्तो छ भन्ने यकिन सुन, चाँदी व्यसायीले स्वयम निर्धारण गर्दै आएको बताए । ‘टन्च मेसिन र ल्याक्टो मिटरको नियमन गर्ने अधिकार नहुँदा उपभोक्ता मारमा परेका छन् । ऐन र नियमावली बनाएर यी दुवैलाई नियमनको दायरामित्र ल्याउनु पर्छ,’ उनले भने, ‘नत्र उपभोक्ता ठगिदै जाने र व्यवसायी मोटाउँदै जाने हुन्छ ।’