लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ नेपालगन्ज : १९ दिनमा २२ जना पक्राउ, एक किलो १५२ मिलिग्राम ब्राउनसुगर बरामद
बाँके, २० असोज ।
पछिल्लो समय बाँके लागु औषध ओसार पसार तथा कारोवारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको बाँके प्रहरीले बरामद गरेको लागु औषध र पक्राउ पर्नेको संख्याले देखाउँछ । यहाँ दिनहुँजसो लागु औषध ओसार पसार तथा कारोवारी पक्राउ पर्ने गरेको बाँके प्रहरीको रेकर्डले देखाएको छ ।
१९ असोजसम्म लागु औषध कारोवार तथा ओसार पसारमा संलग्न २२ जना पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।
उनले लागु औषध सम्बन्धि ११ वटा मुद्दा दर्ता भएको बताउँदै एक जना फरार भएको बताए । ‘असोज महिनाको १९ दिनमा एक किलो १५२ मिलिग्राम ब्राउनसुगर र एक सय २० क्याप्सुल ट्रामाडोल बरामद भएको छ,’ उनले भने ।
भाद्रमा २५ वटा मुद्दा दर्ता
भाद्रमा लागू औषध सम्बन्धि २५ वटा मुद्दा दर्ता भएको बताउँदै डिएसपी राठौरले ती मुद्दामा ६१ जना पक्राउ परेको बताए । प्रहरीले एक सय ४९ ग्राम सात सय मिलिग्राम ब्राउन सुगर, १३ किलो ६४ ग्राम अफिम, ४३ हजार १९९ ट्याब्लेट ट्रामाडोल, २७ ट्याब्लेट नाइट्राजेपाम, १४८ ग्राम चरेश र एक हजार ४ सय मिलिलिटर कोरेक्स बरामद गरेको उनले बताए ।
पक्राउ पर्नेमा अधिकांश यूवा रहेको बाँके प्रहरीले जनाएको छ । विद्यालय र कलेज पढ्ने उमेर समुहका यूवायूवतीसमेत सेवन तथा ओसारपसारमा संलग्न रहेको देखिएको बताउँदै उनले खुला सीमानाका भएकोले समस्या दिन प्रतिदिन बढ्दै गएको बताए । ‘भारतमा सजिलै जाने र उतैबाट सेवन गरेर फर्किने र भारतमा बसेर नेपालमा कारोवार गरेको अनुसन्धानले देखाउँछ,’ उनले भने ।





