वीरेन्द्र माविमा डेढ लाखको अक्षय कोष स्थापना

0
5

बाँके, २४ कात्तिक ।


दंगीशरण गाउँपालिका ३ हेकुलीस्थित वीरेन्द्र माध्यमिक विद्यालयमा डेढ लाख रुपैयाँका दुई वटा अक्षय कोष स्थापना गरिने भएको छ । दंगीशरण गाउँपालिका ५ का जीवन बस्नेतले उक्त विद्यालयमा अध्ययनरत बिद्यार्थीलाई छत्रबृत्ति प्रदान गर्न एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
वीरेन्द्र माध्यमिक बिद्यालय पूर्व विद्यार्थी समाजको भेला तथा दसैँ, तिहार एवम् छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बस्नेतले अक्षय कोष घोषणा गरेका हुन् । उनी वीरेन्द्र माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थी हुन् ।
समाजका अध्यक्ष बिश्वराज पछल्डङ्ग्याको अध्यक्षतामा भएको भेलामा दंगीशरण गाउँपालिका ४ का पूर्व विद्यार्थी समेत रहेका दिलिप शर्माले आफ्नो स्वर्गीय बुवा गेहेन्द्रराज शर्माको नाममा ५१ हजार १५१ रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरे । गेहेन्द्रराज बीरेन्द्र माध्यमिक बिद्यालय हेकुलीका पूर्व शिक्षक हुन् ।
भेलाले विद्यालयको लागि आर्थिक संकलनमा सहयोग गर्ने र विद्यालयमा संचालित विज्ञान संकायका शिक्षकका लागि दंगीशरण गाउँपालिकासँग रकम माग गर्ने निर्णय गरेको अध्यक्ष पछल्डङ्ग्याले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक लक्षमण बस्नेतले विद्यालयको आर्थिक बृद्धिका लागि शुभ दिन कोष स्थापना गरेको बताए । उनले शुभ दिन कोषमा एक लाख ८२ हजार रुपैयाँ जम्मा भएको बताए । ‘जन्मदिन र विशेष दिनको अवसरमा शिक्षक, अभिभावक र विद्यार्थीले कोषमा रकम जम्मा गर्छौँ,’ उनले भने ।