बाँकेमा बाघको संख्या ५१ पुग्यो
बाँके, १७ साउन ।
बाँकेमा बाघको संख्या ५१ पुगेको छ । चार वर्षअघि ०७८ सालको गणनामा बाँकेमा २५ वटा मात्र बाघ थिए ।
राष्ट्रिय बाघ सर्वेक्षणअनुसार यस पटकको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २६ वटा बाघ फेला परेका छन् । नतिजाअनुसार चितवनमा १४५, बर्दियामा ११२, पर्सामा ७१ र शुक्लाफाँटामा ५० वटा बाघ रहेका छन् ।
बर्दिया बाहेक सबै निकुञ्जमा बाघ बृद्धि भएको छ । बर्दियामा अघिल्लो गणनाभन्दा १३ वटा कम बाघ रेकर्ड भएका छन् ।
यसपटकको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७, पर्सा राष्ट्रिय निकुञ्जमा ३०, शुक्लाफाँटामा १४ वटा बाघ बढेका छन् । यसअघि, २०७८ मा गरिएको गणनामा सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बटा, पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका थिए ।
यसपटकको गणनामा बाघको बृद्धिदर पनि घटेको देखिएको छ । बाघको बृद्धिदर २१ प्रतिशत मात्रै रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अत्याधुनिक प्रविधि भएको क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना गर्दै आएको छ ।
देशभर बाघको कुल संख्या बढेर ४२९ पुगेको छ । यसअघि बाघको संख्या ३५५ थियो । पछिल्लो चार वर्षमा ७४ बाघ थपिएका छन् ।







