भेरी अस्पतालको आइसियुमा उपचाररत सर्पदंशका दुई बालिकाको मृत्यु
‘सर्पले कुन अंगमा टोक्यो भन्नेले पनि अर्थ राख्छ । मुटु नजिकको भागमा टोकेको छ भने बढी खतरा हुन्छ,’ उनले भने,’ बालबालिकाको शरिर सानो भएकोले मुटुसम्म बिष छिटो पुग्छ । जसका कारण मृत्यु हुने खतरा रहन्छ ।’
बाँके, १७ साउन ।
भेरी अस्पतालको आइस्यिुमा उपचाररत सर्पदंशका दुई बालिकाको मृत्यु भएको छ । ढिलोगरी अस्पताल ल्याएका कारण मृत्यु भएको भेरी अस्पताल आइसियु वार्डका डा. आनन्द न्यौपानेले जानकारी दिए ।
उनले बैशाखमा ३ जना सर्पदंशका बिरामी आइसियुमा भर्ना भएकोमा ४ वर्षीया बालिकाको मृत्यु भएको बताए । १४ साउनसम्म ५ जना सर्पदंशका बिरामी भर्ना भएकोमा ति मध्ये ६ वर्षीया बालिकाको मृत्यु भएको उनले जानकारी दिए ।
जेठमा ६ जना र असारमा १३ जना सर्पदंशका बिरामी आइसियुमा भर्ना भई निको भएका छन् । बालबालिकाको शरिर सानो भएकोले मुटुसम्म बिष छिटो पुग्ने गरेको उनले बताए । बयस्कभन्दा केटाकेटीमा जोखिम बढी हुने गरेको उनको भनाई छ । ‘सर्पले कुन अंगमा टोक्यो भन्नेले पनि अर्थ राख्छ । मुटु नजिकको भागमा टोकेको छ भने बढी खतरा हुन्छ,’ उनले भने,’ बालबालिकाको शरिर सानो भएकोले मुटुसम्म बिष छिटो पुग्छ । जसका कारण मृत्यु हुने खतरा रहन्छ ।’
उनले सर्पले टोक्दा मिर्गौलामा असर गर्ने बताए । भाइपर जातको सर्पले टोकेमा मिर्गौलामा असर पार्ने उनले बताए । ‘भाइपर जातको सर्पको बिषले मिर्गौलामा असर गर्छ र ड्यामेज गराउने खतरा रहन्छ,’ उनले भने ।
सर्पले तोकेको जानकारी पाए पनि अस्पताल ढिलो ल्याउँदा उपचारमा समस्या आउने गरेको उनले बताए । ‘गाउँमै झारफुक गराउने प्रबृत्तिका कारण अस्पताल ढिलो ल्याउने गरेको पाइन्छ,’ उनले भने, ‘समयमै उपचार पाउने हो भने बिरामीलाई बचाउन सकिन्छ ।’







