मृतकलाई सहिद घोषणा गर्ने र दश लाख दिने सहमती

0
10

देवानगन्ज गाउँपालिकाले पनि मृतकका परिवारलाई १० लाख राहत दिने

बाँके, १५ साउन ।
१० साउन राती देवानगञ्ज–३ कप्तानगञ्जको नयाँहाट बजारमा दुई समुदायबिच भएको झडपका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई दस लाख रुपैयाँ राहत उपलब्ध गराउने गृहमन्त्री सुदन गुरुङ र स्थानीयबासी बिच सहमती भएको छ ।
बिहिवार मध्यराती सुनसरीको देवानगञ्ज पुगेका गृहमन्त्री सुदन गुरुङसँग स्थानीय र पीडित पक्षहरुबिच सहमती भएको हो । प्रहरीको गोली लागेर मृत्यु भएका २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहतालाई सरकारले शहिद घोषणा गर्ने र परिवारलाई जनही दश लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमती भएको छ ।
बिहिवार अबेर राती देवानगन्ज गाउँपालिकमा स्थानीयसँग भएको सहमती अनुसार मृतकलाई शहिद घोषणा र दसलाख राहतसँगै परिवारका एक जना सदस्यलाई रोजगारी दिने, पालिकामा मृतकहरुको नाममा स्मृति पार्क निर्माण गर्ने, कप्तानगन्जमा रहेको मदरसाको कानुनी बैधता छानविन गर्ने र छानविन समितिको सिफारिस तुरुन्त कार्यान्वयन गरिने सहमती भएको छ । सहमतीपछि आज बिहिवार नै मृतक दुवै जना युवाको दाहसँस्कार गरिने भएको छ ।
बिहिवार साँझ ९ बजे विराटनगर आइपुगेका गृहमन्त्री गुरुङले विराटनगरका विभिन्न अस्पतालमा उपचाररत देवानगन्ज घटनामा गोली लागेका घाइतेहरुको अवस्था बुझेका थिए । त्यसपछि सोझै राती १२ बजे सुनसरीको देवानगन्ज पुगेर स्थानीय पालिका अध्यक्ष, स्थानीयबासी र पीडित परिवारसँग लामो छलफल गरेर सहमती गरेका हुन् ।
देवानगन्ज गाउँपालिकाले पनि मृतकका परिवारलाई १० लाख राहत दिने
बिहिवार देवानगन्ज गाउँपालिले पनि मृतक परिवारलाई जनही दसलाख र घाइतेहरुलाई अवस्था हेरेर ५० हजारदेखी २ लाखसम्म क्षतिपुर्ति दिने र शहिदको मान्यता दिलाउन नेपाल सरकारसँग आग्रह गर्ने निर्णय गरेको थियो । कोशी प्रदेश सरकारले पनि मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइते र प्रभावित परिवारलाई ५० हजार राहत दिने घोषणा गरिसकेको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिका ३ स्थित कप्तानगञ्जमा आइतबार राती डीजे बजाएको विवादमा दुई समुदायका युवाहरुबिच भएको झडपपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिनखोज्दा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको आइतार र घाइते भएका देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीवार दिउँसो मृत्यु भएको थियो ।