एउटै गाउँमा ६ सय भैँसी, दैनिक एक हजार लिटर दुध उत्पादन

0
45

बाँके, १२ साउन ।
डुडुवा गाउँपालिका ३, हल्कारापुर्वाका रामसोहन यादव हरेक दिन विहान ३ वजे उठ्छन् । उमेरले ६ दशक पुरा गरेका उनको दैनिकी भैँसीको रेखदेखमा वित्छ । वावुवाजेले गरेको पेशालाई निरन्तरता दिँदै उनले भैँसीको संख्या कमी हुन दिएनन् । उनीसँग अहिले पाडापाडी र भैँसी गरि एक सय ५० वटा छन् । ति मध्ये ५२ वटा दुहुना भैँसी भएको उनले बताए ।
परापूर्वकालदेखि भैँसी पालन गर्दै आएका उनले दैनिक करिव तीन सय लिटर दुध कम्दीस्थित मिलन चोक बजारमा पठाउँछन् । मिलन चोक हल्कारापुर्वाबाट करिव तीन किलोमिटर उत्तरमा पर्दछ । ‘कम्तीमा दैनिक तीन सय लिटर दुध विक्रीका लागि बजार पठाउँछौँ,’ उनले भने, ‘केहि घरबाट नै विक्री हुन्छ । केहि खानका लागि घरमा राख्छौँ ।’

भैँसी चराउन दैनिक चार जना खटिने गरेको उनले बताए । धेरै भैँसी भएकोले एक जनाले सम्भव नभएको उनको भनाई छ । ‘एक–दुई जनाले स्याहार्न सकिदैन । दैनिक कम्तीमा चार जना भैँसी चराउनका लागि खटिनु पर्छ,’ उनले भने ।
रामसोहनका चार भाई छोरा–बुहारी छन् । चारै भाई भैँसीको स्याहारमा खटिने गरेको उनले बताए । ‘चार भाई छोरा, बुहारी र नाती, नतिना सवै भैँसीको रेखदेखमा खटिन्छन्,’ उनले भने, ‘भैँसी पालनसँगै खेतिपाती पनि गर्छौँ ।’
युवाको रोजाइँमा भैँसी पालन
हल्कारापुर्वाका ३१ वर्षीय विष्णुप्रसाद यादवको दैनिकी पनि भैँसी स्याहार्नमै वित्छ । उनीसँग १९ वटा मुर्रा भैँसी छन् । सानैदेखि भैँसीसँगै खेलेकोले अन्य व्यवसायभन्दा भैँसी पालन सजिलो लागेको उनी बताउँछन् । उनी भन्छन्, ‘भैँसी पालनको आम्दानी जागिरीको पारिश्रमिकभन्दा धेरै हुन्छ । जागिरी गर्दा घर बाहिर जानु पर्छ नै अर्काको कुरा सुन्नु पर्छ । यसमा कसैको टोकाई खान पनि पर्दैन ।’
सोही गाउँका ३५ वर्षीय रामफेरन यादवको घरमा तीन दर्जन भैँसी र पाडापाडी छन् । व्यापार र जागिरी खाने सोँच कहिलै नआएको उनले बताए । बालखैदेखि भैँसीको स्याहार, सुसारमा खटिदै आएका उनी दुधको व्यापारसमेत गर्छन् । विहान–बेलुका भैँसीको स्याहार, सुसार गर्छु । फुर्सदको समयमा दुधको व्यापार गर्छु,’ उनले भने, ‘जागिरी र व्यापारका लागि नयाँ सीप सिक्नु पथ्र्यो । पहिलेदेखि भैँसी पालन गरेकोले थप सीप सिक्नु पर्ने नभएकोले यहि पेशा सजिलो लाग्छ ।’
चरिचरनको छैन समस्या
यहाँका किसानले परम्परागत रुपमा भैँसी पाल्दै आएका छन् । हिउँद र वर्खामा गाउँदेखि झण्डै १० किलोमिटर टाढा जंगलको बिचमा रहेको खजुरागौडीमा गोठ सार्छन् । ‘अहिलेसम्म चरिचरनको समस्या छैन । हिउँद र वर्खामा गोठ सार्छौँ । हिउँदे बाली भित्र्याएपछि गाउँमा ल्याउँछौँ,’ विष्णप्रसादले भने, ‘गर्मीयाममा जमिन खाली हुने भएकोले गाउँमै ल्याउँछौँ ।’
गाउँ नजिकै रहेको डुडुवा खोलाले भैँसी पालनमा सहजता थपेको स्थानीय दुर्गाप्रसाद यादवले बताए । खोलाको पानीमा भैँसी खाल बस्ने र सोही पानी पिउने गरेको उनले बताए । ‘डुडुवाको पानीमा खाल बस्छन् । फोहोर भएका भैँसीलाई नुहाई दिन्छौँ । पानी खुवाउन पनि सहज भएको छ,’ उनले भने ।
सहजै दुध विक्री
यस क्षेत्रमा उत्पादन हुने दुधलाई मध्यनजर गरि कम्दीस्थित मिलन चोकमा तीन वटा डेरी उद्योगले संकलन केन्द्र संचालनमा ल्याएका छन् । यसले यहाँका किसानलाई दुध विक्री गर्न सजिलो बनाएको छ । ‘घर नजिकै धेरै डेरी उद्योग खुलेका छन् । डेरी उद्योगहरु दुध लिन घरमै आउँछन् । विक्री नहोला भन्ने चिन्ता छैन,’ यादवले भने, ‘मोल पनि राम्रै मिलेको छ ।’
हल्कारापुर्वामा ३४ घर परिवार यादवको वसोवास छ । यहाँका सवै घर परिवारले भैँसी पाल्दै आएको विष्णुप्रसादले बताए ।
यो गाउँमा करिव ६ सय भैँसी छन् । दैनिक ६ सय लिटर दुध बजार जाने गरेको उनले बताए । परिवार र क्षमता अनुसार भैँसी पाल्दै आएको रामफेरनले बताए । ‘कसैको घरमा थोरै होलान, तर यहाँ भैँसी नपाल्ने परिवार छैन,’ उनले भने, ‘दैनिक ६ सय लिटर दुध बजार जान्छ । केहि गाउँमै विक्री हुन्छ ।’
मुर्रा भैँसीतर्फ किसान आकर्षित
रामफेरन यादवको घरमा १९ वटा मुर्रा भैँसी छन् । ती मध्ये उनले दैनिक कम्तीमा ५० लिटर दुध उत्पादन गर्छन् । लोकल भैँसीले थोरै दुध दिने भएपछि उनले मुर्रा भैँसी थप्दै गएको बताए । ‘लोकल र मुर्रा भैँसीलाई स्याहार गर्ने समय तथा दानापानी खाने उत्तिकै हो,’ उनले भने, ‘लोकल हटाएर मुर्रा भैँसीमात्र राखेका छौँ । गाउँका अन्य परिवारले पनि लोकल भैँसीको ठाउँमा विस्तारै मुर्रा भैँसी बढाउँदै लगेका छन् ।’
उनले डेढ लाखमा मुर्रा भैँसी ल्याएको बताए । यो जातको भैँसी खरिद गर्दा महंगो परे पनि घाटा नहुने बताए । ‘किन्दा महंगो परे पनि विक्री सजिलै हुन्छ र दुध धेरै दिने भएकोले मोल छिट्टै उठाउँछ,’ उनले भने ।
परम्परागत रुपमा भैँसी पालन
गाउँका अधिकांशले परम्परागत रुपमा भैँसी पाल्दै आएका छन् । दिनभर जंगल र मैदानमा चराउँदै आएका यहाँका किसानको भैँसी गोठ पनि परम्परागत नै छ । ‘बाबुबाजेले पालन गर्दै आएको जे देख्यौँ त्यहि अनुसार पाल्दै आएका छौँ,’ विष्णुप्रसादले भने, ‘परम्परागत रुपमा भैँसी पाल्दा पनि हामीलाई घाटा छैन ।’
पक्की गोठमा राख्दा भैँसीको खुर खिइने भएकोले कच्ची गोठमा राख्दै आएको उनले बताए । जस्ता पाताले छाएको गोठमा गर्मी हुन्छ र सिमेन्टेड भूइँ भएको गोठमा राख्दा खुर खिइने र भैँसीले पिर मान्ने हुन्छ,’ उनले भने, ‘परम्परादेखि जे चलिआएको छ । सोही अनुसार अहिले पनि भैँसीलाई राख्दै आएका छौँ ।’
सरकारी अनुदानबाट बञ्चित
यहाँका किसानले सयौँको संख्यामा भैँसी पालन गरे पनि राज्यबाट कुनै सुविधा नपाएको स्थानीय दिनेशप्रसाद यादवले बताए । राज्यले दिने सेवा, सुविधासम्म पहुँच नपुगेको उनले गुनासो गरे । ‘राज्यले वार्षिक करोडौँ रुपियाँ किसानलाई बाँड्छ भन्ने सुन्छौँ, तर अहिलेसम्म हामी कहाँ पुगेको छैन,’ उनले भने, ‘अनुदानका लागि फाराम खुल्छ भन्ने सुनेका छौँ, तर कहिले खुल्छ हामीलाई पत्तो हुँदैन ।’
उनले भैँसीसँग खेल्ने भएकोले अनुदानका लागि आवश्यक पर्ने कागजात मिलाउन नसक्ने बताए । ‘अनुदानका लागि फार्म दर्ता, आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर लिएको र हरेक वर्ष लेखा परीक्षण गराएको हुनु पर्छ भन्छन् । हामी भैँसी चराउनेले यी सवै कागजात मिलाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘यस्तो झन्झट गर्नुभन्दा अनुदान नै नलिए राम्रो लाग्छ ।’