पर्याप्त वर्षात नहुँदा सुक्न थाल्यो खेतको धान
बाँके, २७ साउन ।
पानी नपाएर रोपेको धान सुक्न थालेपछि बाँकेका किसान चिन्तित बनेका छन् । लामो समयदेखि पर्याप्त पानी नपर्दा रोपेको धान सुक्न थालेको छ भने खेतका गरामा धाजा फाटेको छ । खेतको धान सुक्न थालेपछि बोरिङको सहायतामा पानी सिँचाई गर्न गरेको नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरका बाबादिन साहुले बताए । ‘धान रोपेदेखि पर्याप्त पानी परेको छैन । जस्तो रोपेका थियौँ, अहिलेसम्म उस्तै छ,’ उनले दुखेसो पोखे ।
नेपालगन्ज उपमहानगरपालिका १३ लोधइगाउँका कैलाश बढहीले पनि पानी नपाएर धान सुक्न थालेको बताए । बोरिङबाट पानी सिँचाई गरे साध्य नहुने उनले बताए । ‘खेतमा धाजा फाटेको छ । पानी नपाएर धान सुक्न थालेको छ,’ उनले भने ।
सिक्टा सिँचाई योजना समयमा सम्पन्न नहुँदा बाँकेको डडुवा, नरैनापुर, जानकी, खजुरा र नेपालगन्जका किसान सिँचाई सुविधाबाट बञ्चित भएका छन् । कतिपय किसानले बोरिङबाट सिँचाई गर्दै आएका छन् । लामो खडेरीले बोरिङबाट पानी आउन छाडेको नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरका गयाप्रसाद कान्दुले बताए । ‘बोरिङ पनि सुक्न थालेको छ । पहिलेको भन्दा एकदमै कम पानी आउँछ,’ उनले भने ।
डुडुवा गाउँपालिकाका किसानको धान पनि सुक्न थालेको छ । पर्याप्त वर्षात नहुँदा धान सुक्दै गएको डुडुवा गाउँपालिका ६ हिरमिनियाका रतिराम कुम्हारले बताए । उनले बोरिङबाट सिँचाई गरेर धान जोगाउने कोशिस गरे पनि सफल हुन नसकेको बताए ।







