रोल्पामा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँचजना अझै बेपत्ता
रोल्पा, २८ साउन ।
अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका– ५ स्थित कोटलबारामा बुधबार बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोमा परी बेपत्ता पाँचजनाको खोजी जारी रहेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन्। उनीहरू दुवैजनालाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ।
उक्त पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ। निरन्तरको वर्षाका कारण लेदोसहितको पहिरो आइरहेको हुँदा उद्धार कार्यमा कठिनाइ परेको छ।
पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुनमगर, अन्दाजी ६५ वर्षीय कमलबहादुर पुनमगर, ४० वर्षीया जुनकुमारी पुनमगर, नौ वर्षीय असीम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर र ७१ वर्षीया मनरखी पुमगर छन्।
मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्युठानबाट समेत विपत् व्यवस्थापनसहितको टोली बेपत्ता भएकाहरुको खोजीका लागि परिचालन भएको छ।
बेपत्ता भएकाहरूमा सोही ठाउँका ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला पुनमगर छन्।
पहिरोमा परी मृतक कमलबहादुर पुनमगरको घरसहित गोठ पुरिँदा पशु चौपायासमेत बेपत्ता भएका बताइएको छ।







