दाङमा १५ वर्षीया किशोरीले बच्चा जन्माएपछि बलात्कार मुद्दा
किशोरी गर्भवती भएको विषय लामो समयसम्म गोप्य रहे पनि उनले ३१ वैशाखमा नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा छोरीलाई जन्म दिएपछि मात्रै रहस्य खुलेको हो । त्यसभन्दा अघि केटीको घर–परिवारलाई समेत थाहा नभएको पीडित पक्षले जाहेरीमा उल्लेख गरेका छन् । उक्त मुद्धा २५ साउनमा दर्ता भएको छ ।
दाङ, २६ साउन ।
दाङमा १५ वर्षीया किशोरीले बच्चा जन्माएकी छन् । बच्चा जन्मिएपछि एक युवक विरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ । रोल्पा त्रिवेणी गाउँपालिका– ७, सिवाङ घर भई हाल दाङको घोराही उपमहानगरपालिका– १५, शुभलक्ष्मी टोलमा डेरा गरी बस्ने २० वर्षीय सन्तोष बस्नेतविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको हो ।
किशोरीलाई विवाहको प्रलोभन देखाएर करणी गरेको भन्दै सोमबार जिल्ला अदालत दाङमा अभियोगपत्र दर्ता गरिएको छ । कक्षा १० मा अध्ययनरत ती बालिकाको घर प्युठान हो, उनी घोराहीको भरतपुरमा कोठा भाडामा बस्थिन् । त्यही क्रममा ०८२ भदौ ४ गते ‘जरुरी काम छ’ भन्दै फकाएर किशोरीलाई आफ्नै कोठामा बोलाई जबर्जस्ती करणी गरेको र त्यसकै कारण उनी गर्भवती भएको अभियोगपत्रमा उल्लेख छ ।
किशोरी गर्भवती भएको विषय लामो समयसम्म गोप्य रहे पनि उनले ३१ वैशाखमा नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा छोरीलाई जन्म दिएपछि मात्रै रहस्य खुलेको हो । त्यसभन्दा अघि केटीको घर–परिवारलाई समेत थाहा नभएको पीडित पक्षले जाहेरीमा उल्लेख गरेका छन् । उक्त मुद्धा २५ साउनमा दर्ता भएको छ ।
बच्चा जन्मिएपछि मात्र वारदात स्थापित हुन आएको र त्यसपछि पीडितकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । ती केटाले जबर्जस्ती करणी गरेकाले पेटमा बच्चा बसेको पीडित बालिकाकी आमाले जाहेरीमा खुलाएकी छिन् । यद्यपि, करणीपछि पनि केटा र केटीको कुरा भइरहनेसमेत जाहेरीमा उल्लेख छ ।