बाँके, २६ साउन ।
नेपालगन्ज नाकाबाट एक वर्षमा झण्डै ३० अर्वको पेट्रोलियम पदार्थ भारतबाट आयात भएको छ । आयात भएको प्रमुख १० बस्तु मध्ये सवैभन्दा धेरै डिजेल आयात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८२–०८३ मा नेपालगन्ज नाकाबाट १९ अर्व ३३ करोड ९० लाख ७९ हजार रुपियाँको एक लाख ४७ हजार ७८० किलोलिटर डिजेल आयात भएको छ ।
सोही अवधिमा ६ अर्व २४ करोड ८९ लाख ६३ हजार रुपियाँको पेट्रोल र पाँच अर्व ३१ करोड ११ लाख ७८ हजार रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको उनले बताए । ‘पेट्रोलियम पदार्थ आयातबाट १० अर्व ३७ करोड २२ लाख २८ हजार रुपियाँ राजस्व संकलन भएको छ,’ उनले भने ।
गत आवमा चार अर्व ९९ करोड ४८ लाख ६४ हजार मुल्य बराबरको पाँच करोड ७८ लाख ५३ लाख १२५ किलोग्राम चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । चामल आयातबाट ४५ करोड ३० लाख १२ हजार रुपियाँ राजस्व संकलन भई ४५ करोड ३० लाख १२ हजार रुपियाँ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । आर्थिक वर्ष २०८१–०८२ मा पाँच अर्व ९२ करोड २४ लाख ३३ हजार मुल्य बराबरको ६ करोड ७६ लाख ८३ हजार ५८ किलोग्राम चामल आयात भएको थियो । ‘आव ०८१–८२ भन्दा गत आवमा ३३ दशमलव ९२ प्रतिशत कम राजस्व संकलन भएको छ,’ पौडेलले भने ।
गत आवमा एक अर्व २५ करोड १२ लाख ९७ हजार मुल्य पर्ने तोरी, रायो, सस्यो र तिल आयात भएको छ भने ९९ करोड ६६ लाख ५१ हजार रुपियाँको एक करोड ५० लाख ५५ हजार ६ सय ७६ किलो चिनी आयात भएको पौडेलले जानकारी दिए ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार, गत आवमा एक अर्व ८३ करोड ७२ लाख ७० हजार मुल्य पर्ने स्टील वायर रड इन क्वायल तीन अर्व ७८ करोड ३६ लाख २९ हजार रुपियाँ मुल्य बराबरको शुद्ध फलाम आयात भएको छ । तयारी कपडा आयातबाट २४ करोड १० लाख तीन हजार रुपियाँ राजस्व संकलन भएको बताउँदै उनले ७४ करोड १७ लाख २८ हजार मुल्य पर्ने तयारी कपडा आयात भएको बताए ।







