कर्णाली विकास बैँक घोटाला : बचत गरेको रकम नपाउँदा समस्यामा निक्षेपकर्ता
जुम्ला कनका सुन्दरी गाउँपालिका ६ लहार्जका लक्ष्मीप्रसाद आचार्य पनि पैँसाका लागि मंगलवार बैँकमा पुगे, तर बैँकमा रकम नभएको भन्ने जवाफ पाएपछि उनी रित्तो हात फर्किए । दुई वर्षअघि मुद्धती खातामा १० लाख ७० हजार रुपियाँ जम्मा गरेको उनले बताए ।
बाँके, १२ साउन ।
दुई वर्षअघि नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहाकी जनतुन निशा कवडियाले तीन लाख ७७ हजार रुपियाँ नेपालगन्जस्थित कर्णाली विकास बैँकमा जम्मा गरिन् । जरुरत परेको बेला खर्च गर्ने योजनाका साथ उनले उक्त रकम जम्मा गरेको बताइन्, तर उनले जम्मा गरेको रकम निकाल्न पाएकी छैनन् ।
रकम झिक्न मंगलवार उनी कर्णाली विकास बैँकको केन्द्रिय कार्यालयमा पुगिन्, तर उनले जम्मा १२ हजार रुपियाँ मात्र पाइन् । उनका पति मुर्तजा कवडिया १५ दिनदेखि भारतको लखनऊस्थित एक अस्पतालमा उपचाररत छन् ।
टाउकोको नसा फुटेपछि उनलाई उपचारको लागि लखनऊ लगिएको हो । उनका पति मुर्तजाको खातामा पनि एक लाख ३० हजार रुपियाँ छ । ‘अहिले हामीलाई पैँसाको सख्त जरुरत छ । उपचारमा दैनिक ५० हजार भारतीय रुपियाँ खर्च भइरहेको छ । बैँकले दिएको १२ हजार रुपियाँ त गाडी भाडमा ठिक्क होला,’ उनले नयाँ पत्रिकासँग गुनासो गरिन् ।
जुम्ला कनका सुन्दरी गाउँपालिका ६ लहार्जका लक्ष्मीप्रसाद आचार्य पनि पैँसाका लागि मंगलवार बैँकमा पुगे, तर बैँकमा रकम नभएको भन्ने जवाफ पाएपछि उनी रित्तो हात फर्किए । दुई वर्षअघि मुद्धती खातामा १० लाख ७० हजार रुपियाँ जम्मा गरेको उनले बताए ।
सवै रकम फिर्ता गरे दुई–तीन लाख रुपियाँ छाड्न तयार रहेको उनले बताए । आफ्नो रकम लिन पनि भिख मागेझैँ गर्नुपर्छ । बैँक धाएर थाकीसकेँ । अव त आफ्नो रकम लिन बैँकमा आउन पनि लाज लाग्न थालेको छ,’ उनले भने, ‘रकम डुब्न लागेपछि चिन्ताले जिउ गलिसक्यो । सोमवार आन्दोलनमा आएका बेला बेहोस भएर ढलेँ । पीडा सहन नसकेर आन्दोलनमा आयौँ । यो टन्टलापुर गर्मीमा कसैलाई रहर थिएन ।’
उनी ८५ वर्षका भए । बृद्ध भत्ता, छोराछोरीले फलफुल किन्न दिएको रकम जम्मा गरेर बैँकमा जम्मा गरेको उनले बताए । ‘बुढेसकालमा उपचार लगायत तागतिलो खाने कुरा किन्न सजिलो भनेर पैँसा जम्मा गरेँ । ब्याज त के सावाँ समेत नपाउने स्थिति आइलाग्यो,’ उनले भने ।
कर्णाली बिकास बैंकमा करिव एक लाख ६ हजार निक्षपकर्ता रहेको कर्णाली विकास बैँकका संयोजकसमेत रहेका नेपाल राष्ट्र बैँकका उप–निर्देशक टीकाराम खतिवडाले जानकारी दिए । उनले बैँकको जायजेथा विक्रि गरे पनि निक्षपकर्ताको रकम अशुल नहुने बताए । ‘बैँकको सम्पूर्ण सम्पत्ति विक्रि गर्दा पनि निक्षपकर्ताको रकम अशुल उपर हुन्न,’ उनले भने ।
उनले बैँकलाई बन्द गर्नुभन्दा पुनर्संरचना गरेर संचालनमा ल्याउनुपर्ने बताए । ‘बैँक बन्द गर्ने हो भने निक्षपकर्ताको रकम डुब्ने देखिन्छ । बरु यसको पुनर्संरचना गरि संचालन गर्ने उपाय अपनाउनु पर्छ,’ उनले भने, ‘पाँच लाख रुपियाँ जम्मा गरेकाले निक्षेप फिर्ता पाए पनि त्योभन्दा माथिको रकम भएकाहरुले फिर्ता पाउने देखिदैन ।’
पीडितको अनुसार केही व्यक्तिको ८० लाखदेखि सात करोड रुपियाँसम्म निक्षेप बैंकमा अड्कीएको छ । उनीहरूले बैंकले करिब चार अर्ब ३० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्न बाँकी रहेको दाबी गरेका छन् ।
बैंकमा निक्षेपकर्ताको करिब चार अर्ब २० करोड रुपियाँ रहेको नेपाल राष्ट्र बैँकका उप–निर्देशक खतिवडाले पनि स्विकार गरेका छन् । ‘निक्षेपकर्ताको रकम र बैँकको सम्पत्तिको अवस्था निकै अन्तर छ,’ उनले भने ।
कर्णाली विकास बैँक घोटाला विरुद्ध निक्षेपकर्ता आन्दोलित
बैंकमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै निक्षेपकर्ताहरूले सोमवार नेपालगन्जस्थित बैंकको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका थिए । विगत दुई वर्षदेखि आफ्नो बचत रकम फिर्ता नपाएको गुनासो गर्दै करिब तीन सय निक्षेपकर्ताले बैंक कार्यालय घेराउ गरेका हुन् । आन्दोलनमा बाँके, बर्दिया र दाङका पीडित निक्षेपकर्ताहरूको सहभागिता रहेको थियो ।
निक्षेपकर्ताहरूले आफ्नो रकम तत्काल फिर्ता गर्न तथा जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन् । उनीहरूले बैंक तथा नियामक निकायलाई प्रभावकारी कदम चाल्न आग्रह समेत गरेका छन् ।
व्यक्तिगत तथा संस्थागत रूपमा रकम जम्मा गरेका धेरै सेवाग्राही लामो समयदेखि रकम फिर्ता नपाएर समस्यामा परेका छन् । रकम फिर्ता नहुँदा धेरै निक्षेपकर्ता आर्थिक तथा मानसिक समस्यामा परेको जुम्लाका लक्ष्मीप्रसाद आचार्यले बताए ।







