नेपालमा आएकाे बाढीकाे असर भारत सम्म
बाँके,१८ भाद्र । नेपालमा आएको विनाशकारी बाढीको असर सीमापार भारतसम्म पुगेको छ। बाढीको भेलसँगै बिहारका नदीमा असामान्य तथा ठूला माछा देखिन थालेपछि भारतीय अधिकारीहरूले त्यस्ता माछा किन्न, बेच्न र खानबाट जोगिन सर्वसाधारणलाई चेतावनी दिएका छन्।
बिहारको डेरी, मत्स्य तथा पशु संसाधन विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै पहिचान नभएका वा असामान्य देखिने माछा नखान आग्रह गरेको हो।
विभागका अनुसार बाढीका बेला पोखरी, नदी, ताल तथा जलाशयमा रहेका माछा आफ्नो प्राकृतिक बासस्थानबाट विस्थापित भएर बाढीको पानीसँगै टाढासम्म पुग्न सक्छन्। यस क्रममा उनीहरू ढल, मृत जनावर तथा अन्य प्रदूषित वस्तुको सम्पर्कमा आउन सक्ने भएकाले स्वास्थ्य जोखिम बढ्न सक्छ।
४०–४५ किलोसम्मका माछा भेटिए
नेपालमा आएको बाढीपछि त्रिशूली नदीको पानी गण्डक र कोसी नदी हुँदै बिहारतर्फ पुगेको बताइएको छ। बाढीको पानीसँगै ठूलो परिमाणमा माटो, भग्नावशेष, रुखका मुडा, पुल तथा जलविद्युत् आयोजनाका अवशेष, घरायसी सामान र ग्यास सिलिन्डरसहित विभिन्न वस्तु भारततर्फ पुगेका छन्।
यसै क्रममा बिहारका पश्चिम चम्पारण, पूर्वी चम्पारण, गोपालगन्ज, बगाहा र सारणलगायत क्षेत्रमा असामान्य माछा देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गोपालगन्ज र बगाहाका माछा मार्नेहरूले सामान्यभन्दा निकै ठूला माछा फेला परेको बताएका छन्। केही माछाको तौल २७ देखि ३८ किलोसम्म तथा कतिपयको ४० देखि ४५ किलोसम्म रहेको बताइएको छ।
गोपालगन्जका एक माछा मार्नेका अनुसार बाढीपछि तीव्र बहावमा आफूहरूले सामान्य अवस्थामा विरलै देख्ने किसिमका माछा भेटिन थालेका छन्।
माछा आफैँभन्दा दूषित वातावरणको जोखिम
भारतीय अधिकारीहरूले माछा आफैँ विषालु भएको निष्कर्ष भने दिएका छैनन्। मुख्य चिन्ता बाढीको क्रममा ती माछा कस्तो पानी र दूषित वस्तुको सम्पर्कमा आए भन्ने विषयमा छ।
भारतको वाइल्डलाइफ ट्रस्टका निर्देशक समीरकुमार सिन्हाले गण्डकमा देखिएका केही माछा Bagarius bagarius अर्थात् ‘गुन्च क्याटफिस’ हुन सक्ने बताएका छन्। यो तीव्र बहाव भएका नदीमा भारत, नेपाल र दक्षिण–पूर्वी एसियाका केही क्षेत्रमा पाइने प्रजाति हो।
उनले मरेपछि यस्ता माछा छिट्टै बिग्रन सक्ने भन्दै सरकारी चेतावनी पालना गर्न आग्रह गरेका छन्।
बाढीको पानीबाट रोग फैलिने जोखिम
बाढीको पानीमा मानव तथा जनावरका अवशेषसमेत मिसिएर भारततर्फ पुगेको बताइएको छ। यसले पानीको प्रदूषण र संक्रमणको जोखिम थप बढाएको छ।
स्वास्थ्य विशेषज्ञहरूले बाढीको दूषित पानी खानेपानीका स्रोत—ह्यान्डपम्प र इनारलगायत—मा मिसिएमा झाडापखाला र हैजाजस्ता रोग फैलिन सक्ने चेतावनी दिएका छन्।
त्यस्तै दूषित खाना र पानीबाट टाइफाइड तथा हेपाटाइटिस ‘ए’ र ‘ई’को जोखिम पनि बढ्न सक्ने बताइएको छ।
बाढीपछि जमेको पानीका कारण लामखुट्टेको प्रजनन बढ्दा डेंगु, मलेरिया र चिकनगुनियाको जोखिमसमेत बढ्न सक्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
पहिले नै प्रदूषित भूजलमा थप जोखिम
नेपालसँग सीमा जोडिएका बिहारका केही जिल्लामा भूजलमा प्रदूषणको समस्या पहिलेदेखि नै रहेको बताइएको छ।
पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, किशनगन्ज, पूर्णिया र अररियालगायत जिल्लामा आर्सेनिकको मात्रा सुरक्षित सीमाभन्दा बढी रहेको उल्लेख गरिएको छ। यस्तै, सीमा जोडिएका सातै जिल्लामा उच्च मात्रामा फलामसमेत भेटिएको बताइएको छ।
बाढीको पानीले यस्ता स्थानीय खानेपानीका स्रोतलाई थप प्रदूषित बनाउन सक्ने चिन्ता अधिकारीहरूले व्यक्त गरेका छन्।
असामान्य माछा खाएपछि बिरामी भए तत्काल उपचार
बिहारका स्वास्थ्य अधिकारीहरूले बाढीको पानीबाट समातिएको माछा खाएपछि बान्ता, अत्यधिक झाडापखाला, पेट दुख्ने, चक्कर लाग्ने वा सास फेर्न कठिन हुनेजस्ता लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य केन्द्रमा जान आग्रह गरेका छन्।
सर्वसाधारणलाई नदीमा देखिएका असामान्य माछाबारे स्थानीय जिल्ला मत्स्य अधिकारीलाई जानकारी गराउन पनि भनिएको छ।
यससँगै अधिकारीहरूले बाढीको अवस्था सामान्य नहुँदासम्म पहिचान नभएका वा असामान्य देखिने माछा नकिन्न, नबेच्न र नखान आग्रह गरेका छन्।






