बाँके, २१ भाद्र ।
भोटेकोशी बाढी पीडितका लागि बाँकेबाट करिव ४० लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको छ । सिधै उद्धार कोषमा रकम जम्मा गरि २१ जना व्यक्ति तथा संघसंस्थाले जिल्ला प्रशासन कार्यालय बाँकेमा भौचर बुझाएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।
उनले अहिलेसम्म उद्धार कोषमा २४ लाख ३७ हजार २७४ रुपियाँ जम्मा गरि बाँके प्रशासनमा भौचर दाखिला गरेको बताए । प्रशासनमा भौचर जम्मा गर्ने मध्ये सवैभन्दा धेरै नेपालगन्ज उद्योग वाणिज्य संघले ६ लाख एक हजार रुपियाँ दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी जिल्ला प्रशासन कार्यालयमा भौचर दाखिला गरेको छ ।
त्यसैगरी, सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलले तीन लाख ४७ हजार ७७१ रुपियाँ र आदर्श माध्यमिक विद्यालय प्रालिले दुई लाख ३४ हजार ५४० रुपियाँ प्रदान गरेको जानकारी दिँदै उनले नेपाल ज्वैलर्सले दुई लाख ११ हजार रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको उनले बताए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का निवर्तमान अध्यक्ष मोहम्मद सफिक बेहनाले एक लाख ५१ हजार एक सय, रमाशंकार गुप्ताले एक लाख ११ हजार, सन्तोष ज्वैलर्सले एक लाख एक हजार, राजा खानले एक लाख र विभिन्न मस्जिदबाट संकलन गरि ओलमा फाउन्डेशन नेपालले दुई लाख ८९ हजार १३६ रुपियाँ उद्धार कोषमा जम्मा गरेको प्रजिअ तामाङले बताए ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले एक लाख, लाइफलाइन जनरल हस्पिटलले ७५ हजार रुपियाँ प्रदान गरेका छन् । ‘धेरै जनाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेर भौचर प्रशासनमा दाखिला गर्नु भएको छैन,’ उनले भने, ‘बाँकेबाट रकममात्र ४० लाख कोषमा दाखिला भएको अनुमान छ ।’







