बाँके, २२ भाद्र ।
भोटेकोशी बाढीमा बेपत्ता भएकाहरुको पहिचान गर्न भेरी अस्पतालले निशुल्क डिएनए नमुना संकलन गरिरहेको छ । डिएनए नमुनाका लागि १८ जनाले रगत दिएको भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अरविन्द शाक्यले बताए ।
उनले अहिलेसम्म १८ जनाको नमुना संकलन भएको जानकारी दिए । ‘नेपाल प्रहरीसँगको सहकार्यमा भेरी अस्पतालले डिएनए नमुना संकलन गरिरहेको छ । संकलन भएको नमुना केन्द्रिय विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ,’ उनले भने ।
बाँके, दैलेख र बर्दियाका पीडित परिवार डिएनए नमुना संकलनका लागि आउने गरेको उनले बताए । ति मध्ये सात जना कोहलपुर नगरपालिकाका छन् । त्यसैगरी, राप्तिसोनारी गाउँपालिकाका चार, बैजनाथ गाउँपालिकाका दुई, नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिकाका र दैलेखका एक–एक जना छन् भने बर्दियाका दुई जनाले डिएनए नमुना संकलनका लागि रगत दिएको डा. शाक्यले जानकारी दिए ।







