तीन लाख ५७ हजार मूल्य पर्ने स्मार्ट मोबाइल फोनसहित समिर पक्राउ
बाँके, २२ भाद्र ।
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपले ल्याउँदै गरेको तीन लाख ५७ हजार मूल्य पर्ने स्मार्ट मोबाइल फोन बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका २ न्यूरोड क्षेत्रमा बिलबिजक विनाको स्मार्ट मोबाइल फोन ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा नेपालगन्ज उपमहानगरपालिका १६, जयसपुरका समिर अहमदको साथबाट उक्त मूल्य बराबरको मोवाइल फोन बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
शंका लागेर खानतलासी गर्दा समिरले बोकेको झोलाबाट विभिन्न कम्पनीका १९ थान मोबाइल फोन बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । बरामद मोबाइलमा बिलबिजक तथा अन्य कुनै कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ ।
बरामद मोबाइलसहित अहमदलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय नेपालगन्जमा पठाइएको छ ।







