शव पहिचान नभएपछि डिएनएका लागि नमुना दिँदै बेपत्ताका परिवार
‘सास र लाश नपाएपछि शव पहिचानका लागि डिएनए परीक्षण गराउन रगत दिन आएको हुँ,’ उनले भनिन्, ‘बुवाको डिएनएका लागि छोरा वा छोरीको रगत चाहिने भएकोले मैले दिन थालेको छु ।’ नुवाकोटको पहिरोबेसीस्थित शान्ति बजारमा मजदुरी गर्न उनी यसअघि पनि गएका थिए ।
बाँके, २३ भाद्र ।
कोहलपुर नगरपालिका ११, लोकनगरका ५९ वर्षीय अमरसिंह थारुकी ३० वर्षीया छोरी अनिता चौधरी मलिन अनुहार लिएर सोमवार भेरी अस्पतालमा भेटिइन् । बुवा अमरसिंह थारुलाई १० भाद्रमा भोटेकोशीमा आएको बाढीले वगाएर सम्पर्कविहिन भएपछि डिएनए परीक्षणका लागि रगत दिन भेरी अस्पताल आएकी हुन् । अमरसिंह नुवाकोटको पहिरोबेसी शान्ति बजारमा मजदुरी गर्न ८ जेठमा त्यता गएका थिए । ‘सास र लाश नपाएपछि शव पहिचानका लागि डिएनए परीक्षण गराउन रगत दिन आएको हुँ,’ उनले भनिन्, ‘बुवाको डिएनएका लागि छोरा वा छोरीको रगत चाहिने भएकोले मैले दिन थालेको छु ।’
नुवाकोटको पहिरोबेसीस्थित शान्ति बजारमा मजदुरी गर्न उनी यसअघि पनि गएका थिए । ६ महिना काम गरेर फर्किएका उनी पुनः सोही ठाउँमा गएको अनिताले बताइन् । ‘दसैँ मनाउन आएपछि जान्न भन्नु भएको थियो, तर फर्केर आउनु भएन,’ उनले भनिन्, ‘मैले नजानुस भन्दा पनि उहाँले (बुवा) मान्नु भएन । जवरजस्ती जानु भयो ।’
अमरसिंह सँगै लोकनगरका ६ जना प्रो सोलुसन हब नामक कम्पनीमा काम गर्न गएका थिए । बाढीले सवैलाई बगाए पनि महेश थारु र कबिर थारुको शव पहिचान भई अन्तिम संस्कारसमेत भइसकेको छ । ‘दुई जनाको शव चितवनमा भेटियो । हातमा ट्याटु भएकोले पहिचान गर्न सजिलो भयो,’ अनिताले भनिन् ।
कोहलपुर नगरपालिका ११, लोकनगरकी मिना थारु पनि बुवाको डिएनए परीक्षणका लागि भेरी अस्पतालमा रगत दिइन् । उनका ५४ वर्षीय बुवा आशारा थारु र १४ वर्षीय भाई पृथ्वी थारु भोटेकोशी बाढीमा हराएका छन् । पृथ्वी बाबुको साथ लागेर नुवाकोटको पहिरोबेसीस्थित शान्तिवजार गएका थिए । भाईको डिएनए परीक्षणका लागि आमाले रगत दिएको बताउँदै उनले बुवाको लागि आफूले रगत दिएको बताइन् । ‘बुवाको डिएनएका लागि म बाहेक अरुको नहुने भयो,’ उनले भनिन्, ‘भाईको डिएनए परीक्षण गर्न आमाले रगत दिइसक्नु भयो ।’
भेरी अस्पतालमा डिएनए नमुना संकलन निशुल्क
बाढीमा बेपत्ता भएकाहरुको पहिचान गर्न भेरी अस्पतालले निशुल्क डिएनए नमुना संकलन गरिरहेको फरेन्सिक विशेषज्ञ डा. अरविन्द शाक्यले बताए । उनले अहिलेसम्म १८ जनाको नमुना संकलन भएको जानकारी दिए । ‘नेपाल प्रहरीसँगको सहकार्यमा भेरी अस्पतालले डिएनए नमुना संकलन गरिरहेको छ । संकलन भएको नमुना केन्द्रिय विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ,’ उनले भने ।
बाँके, दैलेख र बर्दियाका पीडित परिवार डिएनए नमुना संकलनका लागि आउने गरेको उनले बताए । ति मध्ये सात जना कोहलपुर नगरपालिकाका छन् । त्यसैगरी, राप्तिसोनारी गाउँपालिकाका चार, बैजनाथ गाउँपालिकाका दुई, नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिकाका र दैलेखका एक–एक जना छन् भने बर्दियाका दुई जनाले डिएनए नमुना संकलनका लागि रगत दिएको डा. शाक्यले जानकारी दिए ।
शव पहिचान नहुँदा पीडामाथि पीडा
शव परिचान नहुँदा अन्तिम संस्कार गर्न नपाएको अनिताले दुखेसो पोखिन् । अन्तिम संस्कार गर्न नपाउँदा पीडामाथि पीडा थपिएको बताउँदै उनले शव पहिचान छिटो गर्न सरकारसँग आग्रह गरिन् । ‘अन्तिम संस्कार गर्न पाएको भए केहि राहत मिल्ने थियो । धार्मिक संस्कार अनुसार काजक्रिया गर्न नपाउँदा झनै पीडा थपेको छ,’ उनले भनिन् ।
उनले डिएनए परीक्षणको काम जतिसक्दो चाँडो सक्न आग्रह गरिन् । डिएनएको रिपोर्ट आउन ढिला भए पीडा कम नहुने उनले बताइन् । ‘अन्तिम संस्कार गर्न पाएको भए केहि राहत मिल्ने थियो,’ उनले भनिन्, ‘डिएनए रिपोर्ट ढिलो आए, अन्तिम संस्कार पनि ढिलो हुन्छ । ढिलो भए पीडा थेग्न नसकिने अवस्था आउन सक्छ ।’







