नरैनापुरमै अब आन्तरिक राजस्व सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यताकाे अन्त्य
बाँके ,७ असाेज । बाँकेकाे नरैनापुरमा अब गाउँपालिकाबाटै आन्तरिक राजस्वसम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले प्रदान गर्दै आएको सेवा बुधबारदेखि गाउँपालिकाको आन्तरिक राजस्व शाखामार्फत सञ्चालनमा आएको हो।
सेवाको पहिलो दिन स्थायी लेखा नम्बर (पान) जारी गर्दै औपचारिक रूपमा सेवा प्रारम्भ गरिएको हो। यसअघि पान लगायत राजस्वसम्बन्धी सेवा लिन नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेकोमा अब नरैनापुरमै सेवा उपलब्ध हुने भएको छ।
स्थानीय तहबाटै सेवा सुरु भएपछि समय र खर्च बचत हुनुका साथै करदाता, व्यवसायी, सङ्घसंस्था तथा सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्थानीय तहमै आन्तरिक राजस्व सेवा उपलब्ध हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले सेवाग्राहीलाई नजिकबाट सेवा दिने उद्देश्यले सेवा विस्तार गरिएको जानकारी दिए ।
सरकारले २०८२ कात्तिक १७ गते गरेको निर्णयअनुसार करदाता सेवा कार्यालयबाट हुँदै आएका कार्य स्थानीय तहमार्फत सञ्चालन गर्ने व्यवस्था कार्यान्वयन गर्दै नरैनापुरमा सेवा सुरु गरिएको हो।





