डिप बोरिङमा जमिन मालिकले लगाए ताला : ४० विघा जमिनमा सिँचाई प्रभावित
बोरिङमा ताला लगाएको भुपेन्द्र रेग्मीले स्वीकार गरेका छन् । घरको जगमा बोरिङ परेकोले ताला लगाएको उनले बताए । ‘बोरिङ चलेको बेला घर थर्किन्छ । बोरिङकै कारण कतै–कतै चर्केको छ,’ उनले भने, ‘बोरिङका कारण घरमा क्षति हुन थालेपछि ताला लगाउन बाध्य भएँ ।’
बोरिङको अवस्थाका बारेमा सर्वेक्षण गर्न माग गरे पनि सुनुवाई नभएको बताए । स्थानीय किसानलाई सिँचाईबाट बञ्चित गर्ने आफ्नो मनसाय नभएको बताउँदै उनले घर भत्किने खतरा भएपछि ताला लगाएको बताए ।
बाँके, ७ भाद्र ।
जग्गा धनीले डिप बोरिङमा ताला लगाएपछि नेपालगन्ज उपमहानगरपालिका २२ पुरैनीका किसान सिँचाई सुविधाबाट बञ्चित भएका छन् । पाँच इन्च पानी दिने उक्त डिप बोरिङमा जग्गा धनी भुपेन्द्र रेग्मीले ताला लगाएपछि ४० विघा जमिनमा हुँदै आएको सिँचाई अवरुद्ध भएको स्थानीय गोपीलाल यादवले बताए ।
उनले तरकारी वालीमा समेत सिँचाई गर्न नपाएको बताए । ‘वर्षौँ पहिलेदेखि बोरिङबाट सिँचाई गर्दै आएका थियौँ । जग्गा धनीले अकस्मात ताला लगाएपछि सिँचाई सुविधाबाट बञ्चित भएका छौँ,’ उनले भने ।
डिप बोरिङ ०५७ सालमा जडान भएको हो । माओवादी द्वन्द्व कालमा बन्द रहेको उक्त डिप बोरिङ नेपालगन्जका तत्कालिन मेयर डा. धवल शमशेर राणाको पहलमा संचालनमा ल्याइएको हो । रेग्मीले गत ५ साउनमा ताला लगाएको स्थानीय किसान रामकृष्ण धोवीले बताए । ‘बोरिङमा ताला लागेपछि सिँचाई सुविधाबाट बञ्चित भएका छौँ । पानी नपाएर तरकारी हुर्किन पाएन,’ उनले भने, ‘एक विघा जमिनमा धान खेती गर्न पाएनौँ ।’
सिँचाई गर्न नपाएका कारण तस्कारी खेतीमा असर परेको स्थानीय किरौ मगन्ताले बताए । उनले लौका सुकेको बताउँदै चिचिण्डामा फल नलागेको गुनासो गरे । ‘साउनमा पानी परेन । बोरिङबाट पनि सिँचाई गर्न पाएनौँ । पानी नपाएर लौका पुरै सुक्यो । चिचिण्डामा पनि फल लागेन,’ उनले भने ।
यहाँका अधिकांश कृषकले तरकारी खेती गर्दै आएका छन् । बोरिङमार्फत बाहेक सिँचाई गर्ने अर्को विकल्प नभएको गोपी यादवले बताए । ‘तरकारीमा सिँचाई गर्ने यहि बोरिङ बाहेक अर्को विकल्प छैन,’ उनले भने ।
बोरिङमा ताला लगाएको भुपेन्द्र रेग्मीले स्वीकार गरेका छन् । घरको जगमा बोरिङ परेकोले ताला लगाएको उनले बताए । ‘बोरिङ चलेको बेला घर थर्किन्छ । बोरिङकै कारण कतै–कतै चर्केको छ,’ उनले भने, ‘बोरिङका कारण घरमा क्षति हुन थालेपछि ताला लगाउन बाध्य भएँ ।’
बोरिङको अवस्थाका बारेमा सर्वेक्षण गर्न माग गरे पनि सुनुवाई नभएको बताए । स्थानीय किसानलाई सिँचाईबाट बञ्चित गर्ने आफ्नो मनसाय नभएको बताउँदै उनले घर भत्किने खतरा भएपछि ताला लगाएको बताए । ‘बोरिङको अवस्था सर्वेक्षण गरि प्रतिवेदन तयार पार्न भनेको थिएँ, तर यस विषयमा कसैले चसो दिएन,’ रेग्मीले भने, ‘घर भत्किने अवस्था आएपछि ताला लगाएको हुँ । सर्वसाधारणलाई सिँचाई सुविधाबाट बञ्चित गराउने मेरो कुनै मनसाय छैन । बाध्य भएर ताला लगाउन परेको हो ।’
नेपालको संविधान, कानुन र सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा ताला लगाएको उनले बताए । ‘निजी जमिनमा सार्वजनिक संरचना निर्माण गर्न नपाइने सर्वोच्च अदालतको नजिर छ । अर्काको जमिनमा सार्वजनिक संरचना निर्माण गर्न परेमा मुवाब्जा दिनुपर्ने कानुनी व्यवस्था छ,’ उनले भने, ‘मेरो घरमा क्षति भए क्षतिपूर्ती दिनुपर्छ भन्ने मेरो माग हो ।’
डिप बोरिङका कारण स्थानीयको चापाकल समेत सुक्ने गरेको स्थानीय हरिशचन्द्र तेलीले बताए । उनले बैशाख र जेठमा चापाकल सुक्ने गरेको बताए । ‘बोरिङ चल्न थालेदेखि चापाकलमा पानी आउँदैन । बैशाख र जेठमा पिउने पानीको हाहाकार हुन्छ,’ उनले भने ।







