‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण २१ भाद्रमा

0
6

बाँके, ७ भाद्र ।
नेपालगञ्जमा आयोजना हुँदै आएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण २१ भाद्रमा हुने भएको छ । जेष्ठ नागरिक महिलाको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै पुस्ताबीचको सम्बन्धलाई थप आत्मीय र सुदृढ बनाउने उद्देश्यले ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम गर्न लागेको नाटा च्याप्टर बाँकेका श्रीराम सिग्देलले जानकारी दिए ।
कार्यक्रमका लागि आइतबारदेखि सहभागिता दर्ता खुला गरिएको छ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने उनले बताए ।
कार्यक्रमको रणनीतिक साझेदारका रूपमा धारा नेपालगन्ज म्याराथनले सम्पूर्ण प्राविधिक जिम्मेवारी सम्हाल्नेछ । आयोजकले ‘दौडिन्छिन् हजुरआमा’लाई केवल दौड प्रतियोगिताका रूपमा नभई जेष्ठ महिलाको शारीरिक सक्रियता, आत्मविश्वास, सामाजिक सहभागिता र मनोसामाजिक खुसी प्रवद्र्धन गर्ने सामाजिक अभियानका रूपमा अघि बढाएको धारा नेपालगन्ज म्याराथनका प्रमुख टीएस ठकुरीले बताए ।
कार्यक्रम अन्तर्गत ५० वर्ष उमेर पूरा गरेका हजुरआमाहरू बीच दौड प्रतियोगिता हुनेछ । सहभागीहरूले नेपालगञ्जको बीपी चोकदेखि धम्बोझी चोकसम्मको १ हजार १ मिटर दूरी पार गर्नेछन् । प्रतियोगितामा जीत–हार भन्दा आफ्नै उमेर र क्षमतामाथि विश्वास गर्दै सक्रिय जीवनको उत्सव मनाउने विषयलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ । दौडअघि स्वास्थ्य शिविर समेत सञ्चालन गरिनेछ । शिविरमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचारको व्यवस्था गरिनेछ ।
यसअघि आयोजित पहिलो संस्करणमा ५० वर्ष भन्दा माथिका १५० भन्दा बढी हजुरआमा सहभागी भएका थिए । पहिलो संस्करणको प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका–२० नयाँबस्ती थपुवाकी ५५ वर्षीया धनसरा बुढा प्रथम, नन्दमाया वली द्वितीय र नेपालगञ्जकी रेवती सिंह तृतीय भएकी थिइन् । पहिलो संस्करणमा हजुरआमाहरूको उत्साह, सहभागिता र आत्मविश्वासले कार्यक्रमलाई थप विस्तार गर्न प्रेरणा दिएको आयोजकले जनाएको छ ।