नौवस्ता कारागारका कैदी, वन्दीले गरे बाढी पीडितलाई करिव ५० हजार सहयोग

0
12

बाँके, १४ भाद्र ।
कारागार कार्यालय नौबस्ताका कैदी, वन्दीहरुले रसुवा बाढी पीडितलाई आर्थिक सहयोग गरेका छन् । कारागारस्थित वी ब्लकका करिव ४५० जना कैदी, वन्दीले ४९ हजार ५१० रुपियाँ प्रदान गरेको जेलर दलबहादुर बस्नेतले जानकारी दिए ।
उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भइसकेको उनले बताए । ‘विपद्का कारण प्रभावित भएका तथा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले कैदी, वन्दीले आ–आफ्नो तर्फबाट रकम प्रदान गरि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छन्,’ उनले भने ।
रसुवा बाढीपछि मानवीय तथा भौतिक क्षति प्रति कैदी, वन्दीले दुःख व्यक्त गर्दै कैदी, वन्दीले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको जेलर वस्नेतले बताए । ‘पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत कैदी, वन्दीले गरेका छन्,’ उनले भने ।
विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै पीडित तथा प्रभावितलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको कैदी, वन्दीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।