युरिया मल पाउन संघर्ष गर्दै बाँकेका किसान

0
7

दिनभर लाइनमा बसेका उनले पनि मल पाएनन् । उनले भने, ‘भोक, पियास नभनी दिनभर लाइनमा लाग्यौँ, हात लाग्यो शुन्य जस्तै भयो । बच्चालाई ललिपप बाँडे जस्तै मल वितरण भइरहेको छ ।’

बाँके, २३ साउन ।
युरिया मल पाउन बाँकेका किसानले ठूलै संघर्ष गर्न परेको छ । किसानहरु भोक, पिया, घाम, पानी नभनी लामो लाइनमा बस्न तयार छन् । लाइनमा बस्दासमेत यूरिया मल नपाउँदा किसान चिन्तित बनेका छन् । धानले यूरिया मल खोजेकोले लामो लाइनमा बस्न परेको नेपालगन्ज उपमहानगरपालिका १३ का राकेश लोधले बताए । उनी विहीवार विहान ४ वजे नेपालगन्ज मासुमण्डीस्थित जिल्ला सहकारी संघको अगाडी लाइनमा बसे, तर, मल पाएनन् । उनी निराश भएर घर फर्किए । ‘दिनभर लाइनमा बस्दासमेत मल पाइएन,’ राकेशले भने ।
युरिया मल वितरण हुने सूचना पाएपछि नेपालगन्ज उपमहानगरपालिका १५ भवनियापुरका हिरालाल यादव पनि जिल्ला सहकारी संघमा आए । दिनभर लाइनमा बसेका उनले पनि मल पाएनन् । उनले भने, ‘भोक, पियास नभनी दिनभर लाइनमा लाग्यौँ, हात लाग्यो शुन्य जस्तै भयो । बच्चालाई ललिपप बाँडे जस्तै मल वितरण भइरहेको छ ।’
राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरका राजेश थारुले पनि युरिया मल नपाएको गुनासो गरे । धान रोप्ने बेला पनि नपाएको बताउँदै उनले युरिया मल पनि नपाएको बताए । ‘धानले युरिया मल खोजिरहेको छ, तर कतै पाइएको छैन,’ उनले भने, ‘जतिबेला धानलाई आवश्यक छ त्यतिबेला नपाएपछि मलको के काम ।’
उनले युरिया मलका लागि धेरै ठाउँ धाएको बताए । घर नजिकको सहकारीमा नपाएपछि अरु सहकारीमा समेत पुगेको उनले गुनासो गरे । ‘गाउँको सहकारीमा नपाएपछि अन्यत्रको सहकारीमा पनि पुगेँ, तर कतै पाइएन,’ उनले भने ।