एक वर्षको अवधिमा तीन हजार आठ सय ४६ जनाको मलेरिया जाँच गर्दा ९८ जनामा पुष्टि भएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार साहले जानकारी दिए ।
बाँके, २३ साउन ।
नरैनापुर गाउँपालिकामा गत आर्थिक वर्षमा ९८ जनामा औलो (मलेरिया) पुष्टि भएकोमा सवै निको भएका छन् । एक वर्षको अवधिमा तीन हजार आठ सय ४६ जनाको मलेरिया जाँच गर्दा ९८ जनामा पुष्टि भएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार साहले जानकारी दिए ।
उनले कामका लागि भारत गएकाहरुमा मलेरिया पुष्टि हुने गरेको बताए । ‘कामका लागि भारत गएर फर्किने नेपालीमा मलेरिया देखिने र आफ्नो परिवारका सदस्यलाई सार्ने गरेको देखिन्छ,’ उनले भने ।
नरैनापुरका यूवाहरु गुजरात, मुम्वई लगायतका भारतीय सहरमा कामका लागि जाने गरेका छन् । ‘काम गर्न भारत जाने र उतैबाट मलेरिया ल्याउने गरेको अध्ययनले देखाउँछ,’ साहले भने ।
मलेरिया उन्मुलनका लागि पालिकाले विशेष अभियान थालेको छ । गाउँ–गाउँमा गएर खोज पड्ताल गर्ने, भारतबाट आएका परिवारलाई झुल वितरण, निशुल्क औषधि तथा स्वास्थ्य परीक्षण गर्दै आएको उनले बताए ।
उनले नरैनापुरमा अहिले मलेरियाको अवस्था सामान्य रहेको बताउँदै शंकास्पद ब्यक्तिको तत्काल उपचार गर्दै आएको बताए ।







