डढेलोसँग लडिरहेका फ्रान्स र स्पेनमा तापलहर थप चर्किने पूर्वानुमान 

0
5

बाँके, १३ साउन । फ्रान्सको बोर्डो र स्पेनको म्याड्रिड सहरतर्फ विस्तार भइरहेको खतरनाक डढेलोको गति सुस्त भएकाले राहत महसुस गरिरहेका युरोपेलीलाई यो हप्ता अर्को तापलहर आउने भविष्यवाणीले त्रसित बनाएको छ । यसले जारी डढेलोलाई थप चर्काउन सक्ने र नयाँ डढेलो निम्त्याउन सक्ने डर छ ।

‘हामी अहिले सक्नेजति सबै स्रोत लगाएर टुट्ने अवस्थामा पुगेका छौँ,’ फ्रान्सको राष्ट्रिय अग्नि नियन्त्रक महासंघका प्रवक्ता एरिक ब्रोकार्डीले डढेलो नियन्त्रणविरुद्धको प्रयासबारे मंगलबार बिएफएम टिभीसँग बोल्दै भने , ‘तापक्रम बढ्ने पूर्वानुमान भए पनि हामी डढेलोविरुद्धको युद्ध जारी राख्नेछौँ ।’

फ्रान्सेली अखबार ले फिगारोले लाकानो सहरको समुद्र तटबाट देखिएको आगो र खरानीको तस्बिर छापेको थियो । त्यस्तै, गिरोन्ड क्षेत्रकी अधिकारी सोफी ब्रोकासले अगस्ट ८ सम्म त्यस भेगका सबै खेलकुद र सांस्कृतिक कार्यक्रममा प्रतिबन्ध लगाएकी छिन् ।

सन् २०२६ को फ्रान्सको चौथो गर्मीको लहर मंगलबारदेखि सुरु हुने अपेक्षा गरिएको छ । यस अवधिमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान शाखाले बताएको छ । बुधबार तापको लहर स्पेन पुगेको थियो, जहाँ तापक्रम थप बढ्ने प्रक्षेपण गरिएको छ ।

स्पेनमा डढेलो सुरु भएदेखि एक लाख १६ हजार मानिस आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ भागेका छन् । तथापि, केही स्थानमा भने डढेलो निभेपछि मानिस घर फर्किन थालेका छन् । जस्तो देशको मध्य क्षेत्रको प्रान्त टोलेडोमा यसअघि खाली गर्न निर्देशन दिइएका ११ मध्ये नौ सहरका बासिन्दालाई मंगलबार आफ्नो घर फर्कन अनुमति दिइएको छ । अग्नि नियन्त्रकहरू सोही राज्यका अन्य भाग र छिमेकी एभिलामा भने डढेलो नियन्त्रणमा लागिरहेका थिए । लगभग ८०० वर्गकिलोमिटर जमिन पूर्ण रूपमा जलेको अधिकारीहरूले बताएका छन् ।