नेपालमा बाघको सङ्ख्या ४२९ पुग्याे
बाँके, १३ साउन ।
नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सार्वजनिक गरेको २०८२ को गणनाअनुसार कुल बाघको सङ्ख्या मुलुकभर ४२९ पुगेको हो ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दिया राष्ट्रिय निकुञ्ज ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० बाघ छन् ।
पछिल्ला दिनमा संरक्षण क्षेत्र र बासस्थानमा भएको सुधार, सिकार प्रजातिको वृद्धिलगायतका आधारमा बाघको सङ्ख्या थपिएको बताइएको छ । नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको सङ्ख्या ३५५ थियो ।







