बाँके, १३ साउन ।
जिल्ला प्रशासन कार्यालय दाङले गत आर्थिक वर्षमा १८ हजार ७९ जनालाई नयाँ नेपाली नागरिकता प्रदान गरेको छ। सोही अवधिमा १७ हजार २२२ वटा राहदानी जारी भएको छ जिल्ला प्रशासन कार्यालय दाङ्गले जनाएको छ । दाङ्ग प्रशासनले ७१ हजार ४७० जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिएको छ।
कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार नयाँ नागरिकता पाउनेमध्ये १८ हजार ९ जनाले वंशजका आधारमा, २२ जनाले आमाका नामबाट, ३४ जनाले वैवाहिक अङ्गीकृत, १० जनाले अङ्गीकृत तथा १४ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्।
प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट ६ हजार ६७०, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ७ हजार १५५ र इलाका प्रशासन कार्यालय लमहीबाट ४ हजार २५४ जनालाई नयाँ नागरिकता वितरण गरिएको छ ।
गत आर्थिक वर्षमा १४ हजार ७३७ वटा नागरिकताको प्रतिलिपिसमेत जारी गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार घोराहीबाट ५ हजार १७९, तुलसीपुरबाट ७ हजार २६७ र लमहीबाट २ हजार ७९१ वटा प्रतिलिपि वितरण गरिएको हो।
त्यसैगरी, ४१९ वटा नाबालक परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ। राहदानीतर्फ घोराहीबाट ७ हजार ५७९, तुलसीपुरबाट ५ हजार ६२७ र लमहीबाट ४ हजार १६ वटा राहदानी जारी भएका छन्।
राष्ट्रिय परिचयपत्रतर्फ घोराहीबाट ३३ हजार ५०२, तुलसीपुरबाट २६ हजार ६० र लमहीबाट ११ हजार ९०८ जनाको विवरण दर्ता गरिएको छ। यस अवधिमा ५ हजार ८५५ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्।







