दुई उद्योगलाई कैद र जरिवाना गर्ने अदालतको फैसला

0
49

बाँके, १२ साउन ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरित खाद्य पदार्थ उत्पादन तथा बिक्री गर्ने दुई वटा उद्योगलाई बाँके जिल्ला अदालतले कैद सजाय र जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले दायर गरेका दुई वटा मुद्दामा अदालतले एक उद्योग संचालकलाई एक वर्ष कैद र अर्कोलाई ५० हजार रुपियाँ जरिवाना हुने फैसला गरेको हो ।
जिल्ला न्यायाधीश राजु ढुङ्गानाको इजलासले कोहलपुर नगरपालिका ११ स्थित अस्मिता चाउमिन उद्योगका सञ्चालक पर्शुराम घिमिरेलाई खाद्य स्वच्छता तथा गुणस्त्र ऐनअन्तर्गत दोषी ठहर गर्दै एक वर्ष कैद सजाय तोकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए ।
जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगन्ज उपमहानगरपालिका २ स्थित गौरी मिनी मार्टका रामजी वैश्यलाई ५० हजार रुपियाँ जरिवाना हुने फैसला गरेको पोखरेलले बताए । ‘मार्टबाट बिक्री भइरहेको मासको दालको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा प्रतिबन्धित बाह्य रङ प्रयोग भएको प्रमाणित भएको थियो,’ उनले भने ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको बजार अनुगमन, नमूना संकलन, प्रयोगशाला परीक्षण तथा अनुसन्धानको प्रमाण स्वीकार गर्दै अदालतले फैसला गरेको हो । फैसलामा खाद्य व्यवसायीले उत्पादन र बिक्री गर्ने खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्नु कानुनी दायित्व भएको फैसलामा उल्लेख छ ।
बर्दियाको गुलरियास्थित आनन्द ड्रिङकिङ वाटर उद्योगद्वारा उत्पादित प्रशोधित पिउने पानी र बाँसगढीस्थित सिजी फुड्स इन्टरप्राइजेज प्रालिले उत्पादन गरेको वाइवाइसहित चार ब्रान्डका तयारी चाउचाउ बजारबाट फिर्ता गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको उनले बताए ।
गत आर्थिक वर्षभरि चार सय ४० स्थानमा बजार अनुगमन गर्दा कैफियत देखिएका उद्योगबाट ६ लाख ३८ हजार ८६४ बराबरका खाद्य तथा दाना नष्ट गरिएको उनले जानकारी दिए ।