बाँके,९ श्रावण । लगातारको वर्षापछि शुक्रबार राति मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा खसेको पहिरोले ३ वर्षीय बालकको ज्यान गएको छ । घरमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा होटल व्यवसाय सञ्चालन गर्दै आएको बडुवाल परिवारको घर पुरिएको हो ।
छायाँनाथ रारा नगरपालिका–१३ तिर्प घर भई पुलु बजारमा पेमा लामाको घर भाडामा लिएर होटल व्यवसाय सञ्चालन गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेका बेला घरमाथिबाट पहिरो खसेको थियो ।

पहिरोमा च्यापिएर रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । घटनामा जगनाथ बडुवाल, सृजना बडुवालसहित चार जना सामान्य घाइते प्रहरीले जनाएको छ ।पहिरोले बडुवाल परिवार बस्दै आएको घर पूर्ण रूपमा ध्वस्त बनाएको छ । वरपरका थप तीन घरमा क्षति पुगेको छ भने अन्य आठ घर उच्च जोखिममा परेका छन् । प्रहरी, स्थानीयवासी सहयोगमा उद्धार कार्य भईरहेको छ । पहिरोले मुगम कार्मारोङ गाउँपालिकाले भाडामा लिएको कार्यालय भवनलाई समेत असर पुर्याएको छ । पहिरोले गाउँपालिकाको कार्यालय, सरकारी अभिलेख र औषधि गोदामसमेत क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभास चन्द्र रावलका अनुसार औषधि गोदाम, पुराना सरकारी अभिलेख, लेखापरीक्षण सम्पन्न भएर भण्डारण गरिएका श्रेस्ता तथा अन्य महत्वपूर्ण कागजात पहिरोसँगै बगेर कर्णाली नदीमा मिसिएका छन् ।
उनका अनुसार पालिका भवनमाथिबाट पटक–पटक पहिरो झर्ने क्रम नरोकिएकाले कर्मचारीहरू त्रासबीच सेवा प्रवाह कसरी गर्ने अन्यौलमा छन् । ‘पालिका भवनमाथि निरन्तर पहिरो झरिरहेको छ । सेवा सञ्चालन गर्नै कठिन भएको छ। कुनै पनि बेला ठूलो क्षति हुन सक्ने जोखिम छ,’ प्रमुख प्रशासकीय अधिकृत रावलले बताए ।पुलु बजार वर्षेनी पहिरोको चपेटामा पर्दै आएको छ । यसअघि पनि यही स्थानमा आएको पहिरोमा दुई जनाले ज्यान गुमाएका थिए । शुक्रबारको घटनासँगै पुलु बजारमा पहिरोबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

स्थानीयका अनुसार वर्षौंदेखि जोखिमबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि स्थायी समाधानका लागि प्रभावकारी पहल हुन सकेको छैन । बस्तीमाथिको भीरका कारण प्रत्येक वर्ष वर्षायाममा स्थानीय त्रासपूर्ण जीवन बिताउन बाध्य छन् ।
