बाँके,९ श्रावण ।सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने सरकारकाे निर्णयविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन भएकाे छ।
राष्ट्रिय जेनजी नागरिक अभियानले जेनजी आन्दोलनको मर्म र भावनाविपरीत वर्तमान सरकारले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णय गरेकाे भन्दै शनिबार प्रदर्शन गरेको हुन्।

जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले १२ कात्तिक २०८२ मा सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। त्यही सुविधालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा रास्वपाका बालेन्द्र शाह नेतृत्वकाे मन्त्रिपरिषद्ले ब्युँत्याएको हो।

यससँगै प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सचिवालयमा उपसचिव वा सोसरहको एक/एक जना स्वकीय सचिवको सुविधा हुनेछ भने सांसदहरूले शाखा अधिकृतस्तरको एक–एक जना कर्मचारीको सुविधा पाउनेछन्।

यसरी सांसदलाई फेरि स्वकीय सचिवकाे सुविधा दिइँदा पाँच वर्षभित्र राज्यकोषमा भने साढे दुई अर्ब रूपैयाँ भन्दा बढी आर्थिक भार्नेछ। यसैकाे विराेध गर्दै जेनजीहरूले प्रदर्शन गरेका हुन्।



