नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको घोषणा–पत्र सार्वजनिक, यस्तो छ घोषणा–पत्र
६ भदौमा हुन लागेको संघको निर्वाचनमा नेपाली काँग्रेस, एमाले र नेकपा निकट उद्योगी, ब्यवसायीले ओलीलाई सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाएको रौनियारले बताए । विगतका निर्वाचनमा देखिएको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गरी व्यवसायी बीच एकता कायम गर्न सर्वसम्मत् नेतृत्व चयनको प्रयास गरिएको उनले बताए । ‘प्यानल बनाएर प्रतिस्पर्धा हुँदा निर्वाचित भएपछि पनि कार्यसमिति पक्ष र विपक्षमा विभाजित हुने अवस्था देखिँदै आएको छ । यसले संघको गरिमा र प्रभावकारितामा असर परेको हामीले महशुस गर्यौँ । यसपटक एकताबद्ध नेतृत्व निर्माणको प्रयास गरिएको हो,’ उनले भने ।
बाँके, ४ भाद्र ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि चिरञ्जीवी ओली नेतृत्वको संयुक्त प्यानलले ‘व्यावसायिक एकता, सहकार्य र पारदर्शिता ः बाँकेको आर्थिक समृद्धि नै हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
प्यानलले संघको सुदृढीकरणदेखि औद्योगिक विकास, व्यवसाय प्रवद्र्धन, उद्यमशीलता र व्यवसायीको हितसम्मका विषयलाई प्रतिबद्धतामा समेटेको संयुक्त प्यानल निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियारले बताए ।
६ भदौमा हुन लागेको संघको निर्वाचनमा नेपाली काँग्रेस, एमाले र नेकपा निकट उद्योगी, ब्यवसायीले ओलीलाई सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाएको रौनियारले बताए । विगतका निर्वाचनमा देखिएको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गरी व्यवसायी बीच एकता कायम गर्न सर्वसम्मत् नेतृत्व चयनको प्रयास गरिएको उनले बताए । ‘प्यानल बनाएर प्रतिस्पर्धा हुँदा निर्वाचित भएपछि पनि कार्यसमिति पक्ष र विपक्षमा विभाजित हुने अवस्था देखिँदै आएको छ । यसले संघको गरिमा र प्रभावकारितामा असर परेको हामीले महशुस गर्यौँ । यसपटक एकताबद्ध नेतृत्व निर्माणको प्रयास गरिएको हो,’ उनले भने ।
पद बाँडफाँडका लागि मात्रै सर्वसम्मत् नेतृत्व चयनको प्रयास भएको बताउँदै उनले संघका कमीकमजोरी हटाउँदै सबै वर्ग, क्षेत्र र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गरेर संघलाई सबैको साझा र विश्वसनीय संस्था बनाउने उद्देश्य भएको बताए ।
संयुक्त प्यानलले बाँकेका सबै स्थानीय तहमा पालिकास्तरीय उद्योग वाणिज्य संघ गठन गर्ने प्रतिबद्धता पत्रमा समेटेको छ । पालिका अध्यक्षलाई जिल्ला कार्यसमितिको पदेन सदस्यका रूपमा प्रतिनिधित्व गराउने र ‘मेरो संघ, मेरो सदस्यता’ अभियानमार्फत जिल्लाका बढीभन्दा बढी उद्योगी–व्यवसायीलाई संघमा आबद्ध गराउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
नयाँ सदस्यले मतदानमा सहभागी हुन कम्तीमा एक वर्षअघि फर्म दर्ता गरेको हुनुपर्ने र पुराना सदस्यले मतदाता बन्न निरन्तर तीन वर्ष फर्म नवीकरण गरेको हुनुपर्ने व्यवस्था गर्ने प्रतिबद्धतामा उल्लेख छ । सदस्यता सम्बन्धी व्यवस्थाका लागि विधान संशोधन गर्ने पनि प्यानलले जनाएको छ ।
नौबस्ता औद्योगिक क्षेत्र र क्षेत्रीय विमानस्थल
प्यानलले नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि सरकारसँग दबाब र पहल गर्ने जनाएको छ। सरकारले शिलान्यास गरेको लामो समय बितिसक्दा पनि पूर्वाधार निर्माण अघि बढ्न नसकेको भन्दै यसलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता छ ।
त्यस्तै राँझा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गरी नेपालका प्रमुख सहरसँगै भारतको नयाँदिल्ली लगायतका प्रमुख सहरमा सिधा हवाई उडानका लागि सरकारसँग पहल गर्ने अध्यक्षका उम्मेदवार चिरन्जीवी ओलीले बताए ।
लगानी सम्मेलनदेखि सुख्खा बन्दरगाहसम्म
बाँकेलाई औद्योगिक उत्पादन, व्यापार, शिक्षा र स्वास्थ्य सेवाको प्रादेशिक केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना बनाउने र लगानी सम्मेलन आयोजना गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह निर्माणको मागलाई निरन्तर उठाउने तथा नेपालगन्ज एकीकृत जाँच चौकीमा आयात–निर्यातको समय र लागत घटाउन पहल गर्ने प्रतिवद्धता पत्रमा समेटिएको छ ।
आइसीपीमा गोदाम, पार्किङ, कन्टेनर व्यवस्थापन, सुरक्षा तथा डिजिटल प्रणाली सुधारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने प्यानलको योजना छ।
कृषि, जडीबुटी र पर्यटन प्रवद्र्धन
कृषि उपजको बजारीकरण, स्थानीय उत्पादनको ब्रान्डिङ, प्याकेजिङ र गुणस्तर सुधारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने ओली नेतृत्वमो प्यानलले घोषणा गरेको छ । ‘आवश्यकताका आधारमा सहरी क्षेत्रमा हाट बजारको सम्भाव्यता अध्ययन गर्ने तथा जडीबुटी संकलन, प्रशोधन, भण्डारण र निर्यातमा सहजीकरणका लागि सम्बन्धित व्यवसायी, संस्थासँग समन्वय गरिने छ,’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘बाँकेका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रवद्र्धनका लागि पर्यटन सम्बन्धी निकाय, व्यवसायी र अन्य सरोकारवालासँग सहकार्य गरिने छ ।’
नेपालगन्जमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सव, रोजगार मेला, उद्यमशीलता कार्यक्रम तथा औद्योगिक प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता पनि प्यानलले अघि सारेको छ ।
संयुक्त प्यानलका उम्मेदवार को–को छन् ?
संयुक्त प्यानलबाट अध्यक्ष पदमा चिरञ्जीवी ओली, उद्योग उपाध्यक्षमा कमलकुमार कार्की, वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ र महिला उपाध्यक्षमा रूपा ओझा (सानु) उम्मेदवार छन् ।
उद्योगतर्फ उपाध्यक्षमा कार्की, वाणिज्यतर्फ उपाध्यक्षमा श्रेष्ठ, एसोसिएट सदस्यतर्फ राजीव तलंगा र अब्दुल वाहिद अन्सारी तथा सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्विरोध निर्वाचित भइसकेका छन् ।
महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टीकामणि उपाध्यायले प्रतिस्पर्धा गरिरहेका छन् ।
सदस्य पदमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दाराम जैसी, चाँदबाबु अन्सारी, जहाँगीर मुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, ई. नगेन्द्र शाही र शरदप्रसाद रिजाल उम्मेदवार छन् ।







