बाँके, ४ भाद्र ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार एमाले, नेकपा र राप्रपाबाट ६ मन्त्री नियुक्त गरेका हुन् । नियुक्तिपछि प्रदेश प्रमुख देवकोटाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नयाँ सत्तागठबन्धनअन्तर्गत एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ, नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्री नियुक्त भएका छन् ।
मन्त्रालयको जिम्मेवारी बाँडफाँटअनुसार भरतबहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व गर्ने भएका छन् । नेकपाका सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । राप्रपाका गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
एमालेका ज्ञानबहादुर तामाङलाई भने तत्कालका लागि विना विभागीयमन्त्री बनाइएको छ । प्रदेश सरकारका आठ मन्त्रालयमध्ये कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री थापाले आफूमातहत नै राखेका छन् ।







