भेरी अस्पतालमा एन्टि स्नेक भेनम पर्याप्त छ : प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नाल

0
50

बाँके, १ भाद्र ।
भेरी अस्पतालमा एन्टि स्नेक भेनम पर्याप्त मात्रामा रहेको अस्पतालले जनाएको छ । कुल चार सय ५० भायल एन्टि स्नेक भेनम आएकोमा एक सय ५० भायल अझैँ मौज्दात रहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताए ।
उनले अस्पतालमा गत वर्षको सय भायल मौज्दात रहेकोले समस्या नपरेको बताए । ‘गत वर्षको सय भायल बाँकी थियो । यस वर्ष चार सय ५० भायल आएको थियो,’ उनले भने, ‘अहिलेलाई पर्याप्त छ । सकिन लाग्यो भने माग गरौँला ।’
भेरी अस्पतालमा लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्पदंसका विरामी आउने गरेको उनले बताए । ‘सर्पले टोकेका विरामी धेरै आए पनि सवै विरामीलाई एन्टि स्नेक भेनम दिनु पर्दैन,’ डा. दर्नालले भने ।
अस्पतालमा ढिलो आउने गरेका कारण सर्पदंसका विरामीलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्न परेको सर्पदंस उपचार फोकल पर्सनसमेत रहेका एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डेले बताए । उनले आइसियूमा उपचाररत ६ र ७ वर्षीया बालिकाको मृत्यु भएको बताए । ‘सर्पले टोकेपछि आत्तिएर अस्पताल आउँछन्, तर अधिकांश विरामीलाई विष नलाग्ने सर्पले टोकेको पाइन्छ । विरामीको लक्षण हेरेर एन्टि स्नेक भेनम दिइन्छ,’ डा. पाण्डेले भने ।
उनले दुई जनाको भेन्टिलेटरमा र एक जनाको आइसियूमा उपचार भइरहेको बताए ।