गत असारमा नेपालगन्जस्थित भेरी ग्यासले एक हजार आठ सय ९१ दशमलव २० मेट्रिक टन आयात गरेकोमा २४ साउनसम्म दुई हजार ६ सय १२ दशमलव १२ मेट्रिक टन आयात गरेको छ । नेपालगन्जकै मनकामना ग्यास उद्योगले गत असारमा नौँ सय २४ दशमलव ५३ मेट्रिक टन ग्यास आयात गरेकोमा २४ साउनसम्म आठ सय २३ दशमलव ०९ मेट्रिक टन आयात गरेको नेपाल आयल निगम नेपालगन्जले जनाएको छ ।
बाँके, २५ साउन ।
नेपाल आयल निगम नेपालगन्जले खाना पकाउने एलपिजी ग्यास सहज रुपमा आयात भइरहेकोले नआत्तिन आग्रह गरेको छ । नेपाल आयल निगम नेपालगन्जका प्रमुख अजितकुमार पोखरेलले भारतले उद्योगको क्षमता र माग बमोजिमको ग्यास दिइरहेकोले नआत्तिन आग्रह गरेका हुन् ।
उनले बजारमा देखिएको अभावलाई मध्येनजर गरि उद्योगले ग्यास आयातको परिमाण बढाएको बताउँदै असार महिनाभन्दा २४ साउनसम्म बढि ग्यास आयात भएको बताए । गत असारमा तीन हजार ६ सय ३६ दशमलव ०८ मेट्रिक टन ग्यास आयात भएकोमा २४ साउनसम्म चार हजार पाँच सय ७३ दशमलव ५३ मेट्रिक टन आयात भइसकेको पोखरेलले जानकारी दिए ।
अतिरिक्त ग्यास सिलिण्डर भण्डारण गर्दा लिक भएर आगलागी हुने सम्भावना रहने बताउँदै उनले आत्तिएर धेरै सिलिण्डर राखेका कारण अभाव सिर्जना भएको बताए ।
उनले दैनिक सरदर १० वटा ग्यास बुलेट नेपालगन्ज नाका भएर आउने गरेको बताए । ‘कुनै दिन ३४ वटा बुलेट आएको रेकर्ड पनि छ,’ उनले भने ।
नेपाल आयाल निगम नेपालगन्जले चार वटा ग्यास उद्योगमा ग्यास पठाउने गरेको छ । ‘दैनिक सरदर एक सय ८० मेट्रिक टन ग्यास आयात हुन्छ,’ उनले भने, ‘ग्यास नियमित रुपमा आइरहेकोले अभाव हुने कुरो आउँदैन । आत्तिएर भण्डारण गर्दा आगलागी हुने डर रहन्छ ।’
गत असारमा नेपालगन्जस्थित भेरी ग्यासले एक हजार आठ सय ९१ दशमलव २० मेट्रिक टन आयात गरेकोमा २४ साउनसम्म दुई हजार ६ सय १२ दशमलव १२ मेट्रिक टन आयात गरेको छ ।
त्यस्तै, नेपालगन्जकै मनकामना ग्यास उद्योगले गत असारमा नौँ सय २४ दशमलव ५३ मेट्रिक टन ग्यास आयात गरेकोमा २४ साउनसम्म आठ सय २३ दशमलव ०९ मेट्रिक टन आयात गरेको नेपाल आयल निगम नेपालगन्जले जनाएको छ ।
दाङमा उद्योग रहेको राप्ती ग्यास उद्योगले असारमा ६ सय ३३ दशमलव ६४ मेट्रिक टन र बाँकेमा उद्योग रहेको नेपाल ग्यास उद्योगले एक सय ८६ दशमलव ७१ मेट्रिक टन आयात गरेको पोखरेलले बताए । २४ साउनसम्म राप्तीले आठ सय २९ दशमलव २७ र नेपाल ग्यास उद्योगले तीन सय ९ दशमलव ०५ मेट्रिक टन ग्यास आयात गरेको उनले बताए । ‘आयात भएको तथ्यांक हेर्दा सवै ग्यास उद्योगले पहिलेकोभन्दा धेरै ग्यास आयात गरेको देखिन्छ,’ उनले भने ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले पनि अघिल्लो महिनाभन्दा साउनमा बढि ग्यास आयात भएको बताए ।







