कंगोमा जारी महामारी बन्यो हालसम्मकै दोस्रो ठुलो इबोला प्रकोप
काठ्माडौँ, २१ साउन ।
प्रजातान्त्रिक गणतन्त्र कंगोमा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या एक हजार ७०० भन्दा माथि पुगेको छ । यसबिच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रयोगात्मक उपचार, रोकथाम औषधि र खोपको परीक्षण अभूतपूर्व गतिमा अगाडि बढिरहेको बताएको छ ।
पछिल्लो सरकारी तथ्यांकअनुसार भाइरसको दुर्लभ ‘बुन्डिबुग्यो स्ट्रेन’को कारणले सिर्जित पछिल्लो प्रकोप घोषणा भएको मे १५ देखि यता तीन हजार ८०२ केस पहिचान भएको र तीमध्ये एक हजार ७०७ जनाको मृत्यु भएको छ । डब्लुएचओको तथ्यांकले १७ हजारभन्दा बढी सम्भावित बिरामीको सम्पर्कमा आएको मानिसमाथि निगरानी भइरहेको जनाएको छ । यसमध्ये लगभग ८० प्रतिशत प्रत्येक दिन फलोअप गरिएको पनि तथ्यांकले देखाउँछ ।
पछिल्लो इबोला प्रकोप रेकर्ड राख्न थालिएयताको दोस्रो ठुलो प्रकोप बनिसकेको छ । इबोला भाइरसका अन्य प्रजातिको तुलनामा बुन्डिबुग्यो भेरियन्टविरुद्ध कुनै स्वीकृत खोप वा उपचार उपलब्ध नहुनुले पनि संकट गहिरो बनाएको छ । यो प्रकोप मुख्यतः कंगोको पूर्वी प्रान्त इटुरीमा केन्द्रित छ, जहाँ देशमा पहिचान भएका केसको लगभग ९० प्रतिशत बिरामी भेटिएको हो । यद्यपि, प्रमुख सहर किसानगानीसहित अन्य पाँच प्रान्तमा पनि संक्रमण पुष्टि भएको छ ।
पछिल्लो प्रकोप अघिल्ला इबोला प्रकोपको तुलनामा बढी छिटो फैलिइरहेको छ । यसअघि सन् २०१४–२०१६ मा पश्चिम अफ्रिकामा फैलिएको प्रकोपको समयमा झन्डै २८ हजार मानिसलाई संक्रमित भएको थिए भने ११ हजारभन्दा बढीको ज्यान लियो । त्यस समय मृतकको संख्या एक हजार पुग्न लगभग आठ महिना लागेको थियो । उता छिमेकी युगान्डाले भने जुनको मध्यमा आफ्नो अन्तिम बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेपछि आफूलाई इबोलामुक्त घोषणा ग¥यो ।







