नेपालगन्ज नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निर्यात हुने गरेको अध्यक्ष शर्माले बताए । ‘औषधि, साबुन, स्याम्पुलगायतका सामग्री उत्पादनमा प्रयोग हुने यी जडीबुटी भारतसँगै जर्मनी, बंगलादेशलगायत तेस्रो मुलुकमा समेत पुग्ने गरेको छ,’ अध्यक्ष शर्माले भने ।
बाँके, २० साउन ।
नेपालगन्ज नाकाबाट एक वर्षमा ३७ लाख किलोभन्दा बढी जडीबुटी निर्यात भएको छ । गत आर्थिक वर्ष ०८२/८३ मा नेपालगन्ज नाकाबाट ८४ करोड २६ लाख ७४ हजार रुपैयाँ बराबरको ३७ लाख ३ हजार ८ सय ६१ किलो विभिन्न प्रकारका जडीबुटी निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
जडीबुटी निर्यातको यो परिमाण अघिल्लो वर्षको तुलनामा बढि भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए । ‘नेपालगन्ज नाका मुलुककै सबैभन्दा बढी जडीबुटी निर्यात हुने नाकाका रूपमा स्थापित भएको छ,’ उनले भने ।
पछिल्ला केही वर्षयता जडीबुटीको निर्यात पुनः बढ्दै गएको उनले बताए । निर्यात बढेसँगै पश्चिम नेपालका जडीबुटी उत्पादक किसान, संकलक र व्यवसायी उत्साहित भएको उनले बताए ।
आर्थिक वर्ष ०८१/८२ मा नेपालगन्ज नाकाबाट ८३ करोड ६४ लाख ७० हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको थियो । आर्थिक वर्ष ०८०/८१ मा ७९ करोड ४८ लाख ८२ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको उनले जानकारी दिए ।
नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले जडीबुटी निकासी प्रक्रिया सहज हुँदै गएपछि नेपालगन्ज नाकाबाट निर्यात क्रमशः बढेको बताए । ‘कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन तथा संकलन हुने जडीबुटीको भण्डारण तथा विदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिटका रूपमा विकास भएको छ,’ उनले भने ।
टिम्मुर, रिठा र काउलो बढी
नेपालगन्ज नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निर्यात हुने गरेको अध्यक्ष शर्माले बताए । ‘औषधि, साबुन, स्याम्पुलगायतका सामग्री उत्पादनमा प्रयोग हुने यी जडीबुटी भारतसँगै जर्मनी, बंगलादेशलगायत तेस्रो मुलुकमा समेत पुग्ने गरेको छ,’ अध्यक्ष शर्माले भने ।
कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा स्थानीय व्यवसायीले खरिद गरी नेपालगन्ज ल्याउने गरेका छन् । यही नाकाबाट तेस्रो मुलुकमासमेत निर्यात हुने गरेको उनले बताए । ‘नेपालगन्ज नाका पश्चिम नेपालका पहाडी जिल्लामा उत्पादन तथा संकलन भएका जडीबुटीलाई भारतीय र तेस्रो मुलुकसम्म पु¥याउने प्रमुख माध्यम बनेको छ,’ शर्माले भने ।







