दुई वर्षपछि भेरी अस्पतालमा सीटी स्क्यान सेवा सुचारु

0
38

‘अबदेखि विशेषज्ञ चिकित्सकको सिफारिस अनुसार आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीले अस्पतालमै सहज, सुरक्षित तथा गुणस्तरीय सीटी स्क्यान सेवा प्राप्त गर्न सक्ने जानकारी गराइन्छ,’ डा. दर्नालले जारी गरेको सूचनामा उल्लेख छ ।

बाँके, १८ साउन ।
भेरी अस्पतालको सीटी स्क्यान सेवा करिव दुई वर्षपछि सुचारु भएको छ । चालू अवस्थामा रहेको सीटी स्क्यान मेसिन विग्रिएपछि अवरुद्ध भएको थियो । विग्रिएको मेसिन मर्मतपछि सोमवारदेखि सुचारु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले जानकारी दिए । ‘अबदेखि विशेषज्ञ चिकित्सकको सिफारिस अनुसार आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीले अस्पतालमै सहज, सुरक्षित तथा गुणस्तरीय सीटी स्क्यान सेवा प्राप्त गर्न सक्ने जानकारी गराइन्छ,’ डा. दर्नालले जारी गरेको सूचनामा उल्लेख छ ।
अस्पतालका अनुसार सेवा पुनः सञ्चालनसँगै बिरामीले सीटी स्क्यानका लागि अन्य अस्पताल वा निजी स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता हटेको छ । उनले भने, ‘समयमै रोगको पहिचान तथा उपचारमा सहजता हुने र उपचार खर्चसमेत कम हुने अपेक्षा गरिएको छ ।’
भेरी अस्पतालले वर्षौंदेखि सेवाग्राहीहरूले देखाउँदै आएको विश्वास, साथ र सद्भावप्रति आभार व्यक्त गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि निरन्तर प्रयासरत रहेको डा. दर्नालले जानरी गरेको सूचनामा उल्लेख छ । ‘भेरी अस्पताल उपचार गर्ने संस्था मात्र नभई जनताको विश्वासको केन्द्र हो । पछिल्ला दिनहरूमा सेवा विस्तार, सेवा व्यवस्थापन सुधार, आधुनिक उपकरणहरूको सञ्चालन, विशेषज्ञ सेवाको सुदृढीकरण, बिरामीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर काम भइरहेको छ,’ जारी सूचनामा उल्लेख छ ।
अस्पतालले आगामी दिनमा पनि सेवाग्राहीको सुझाव, विश्वास र सहकार्यलाई आत्मसाथ गर्दै अझ प्रभावकारी, पारदर्शी, सुशासनयुक्त तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध जनाएको छ ।