बर्दियामा कर्णाली नदीजन्य स्रोतको संरक्षण र कानुन निर्माणबारे बहस
बर्दिया, १२ साउन ।
बर्दियामा तीन तहका जनप्रतिनिधि तथा सरोकारवालाबिच कर्णाली नदीजन्य स्रोतको संरक्षण, उपयोग तथा व्यवस्थापनसम्बन्धी संवाद गरिएको छ।
संवाद समूहको आयोजनामा भएको कार्यक्रममा संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी रहेका थिए । कर्णाली नदीको बदलिँदो बहाव, नदीजन्य स्रोतको व्यवस्थापन तथा प्रयोग, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि कानुनीमा व्यापक सुधारको आवश्यक रहेको सहभागीहरूको धारणा रहेको थियो ।
विगत केही वर्षयता कर्णाली नदीको पूर्वी भंगालो गेरुवा नदीभन्दा बढी बहाव कर्णालीतर्फ रहेको छ । गेरुवा नदीको ढुंगाबालुवा उत्खनन गर्दा निकुञ्जको कानुन बाधक बन्ने हुँदा त्यहाँबाट नदीजन्य पदार्थ उत्खनन गर्न समस्या भएकाे छ । कानुनी जटिलता गर्दा नदी उत्खनन हुन नसक्दा गेरुवा क्षेत्रको ढुंगा–बालुवा थुप्रिएर नदीको सतह माथि आएको छ, जसले गर्दा नदी सुक्खा बन्दै गएको छ ।
नदीमा पानी सुक्दै जाँदा वन्यजन्तु पानीको खोजीमा गाउँबस्ती पस्ने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने गरेको छ । त्यहीँ भएर कानुन निर्माण गर्दा स्थानीय आवश्यकता र समस्याको समाधान हुने गरी कानुन निर्माण आवश्यक रहेको कार्यक्रममा सहभागीको मत रहेको थियो ।







