जमुनाह नाकामा सशस्त्र प्रहरीको ’बीआईटी’ टोली परिचालन

0
24

बिआइटी टोली प्रत्येक स्थानमा सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १४ सदस्यीय रहने व्यवस्था गरिएको छ । टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सशस्त्र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको बिआईटीको आधिकारिक पोशाकमा खटिनेछ ।

बाँके, ११ साउन ।
नेपाल–भारत सीमा अन्तरगत नेपालगन्जस्थित जमुनाहा नाकामा सशस्त्र प्रहरी बलको बोर्डर इन्टर्याक्सन टोली (बीआईटी) टोली परिचालन भएको छ । सीमा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण तथा लागूऔषध र अवैध सामानको ओसारपसार रोक्ने उद्देश्यले विआइटी टोली परिचालन गरिएको हो ।
जमुनाहा नाकामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३० गण बागेश्वरी बाँकेका गणपति एसपी भीमबहादुर चन्द, सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन बिष्ट, सीमा सुरक्षा गुल्म जमुनाहाका प्रमुख डिएसपी तीर्थ न्यौपाने तथा बिओपी जयसपुरका प्रमुख इन्स्पेक्टर हिमाल केसीको उपस्थितिमा बिआईटी टोलीले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो ।
आइतबारदेखि देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको बिआइटी टोली प्रत्येक स्थानमा सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १४ सदस्यीय रहने व्यवस्था गरिएको छ । टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सशस्त्र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको बिआईटीको आधिकारिक पोशाकमा खटिनेछ । प्रत्येक सिफ्टमा एक महिला सशस्त्र प्रहरी कर्मचारी समेत खटिने व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बिआईटी टोलीको मुख्य जिम्मेवारी सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउनुका साथै मानव बेचबिखन तथा ओसारपसारका घटनाको रोकथाम, उद्धार र सूचना संकलन गर्नु हो । साथै, प्रतिबन्धित लागूऔषध, अवैध सामानको तस्करी तथा अन्य सीमा अपराधमाथि निगरानी बढाई आवश्यक कारबाहीमा सहयोग गर्ने जिम्मेवारी पनि टोलीलाई दिइएको छ ।