बाँके, ११ साउन ।
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ भएको छ । कुल २८ हजार ३ सय ७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । जिल्लामा करिब ३३ हजार ७ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेका अनुसार पछिल्ला दिनमा परेको वर्षाले रोपाइँले तीव्र गति लिएको छ । सिक्टा सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र तथा अन्य सिँचाइ सुविधा पुगेका स्थानमा किसानले रोपाइँ सकिसकेको उनले बताए । तर, आकाशे पानीमा निर्भर रहेका केही क्षेत्रमा पर्याप्त वर्षा नहुँदा रोपाइँ अझै बाँकी रहेको उनले बताए ।
उनका अनुसार बाँकेमा सामान्यतया असारको दोस्रो सातादेखि धान रोपाइँ सुरु भई भदौको पहिलो सातासम्म चल्ने गर्दछ । यस वर्ष मनसुन ढिलो सक्रिय भएकाले रोपाइँ पनि केही ढिलो सुरु भए पनि पछिल्ला वर्षाले किसानलाई राहत दिएको छ ।
वर्षा भइरहे १५ साउनसम्म बाँकी क्षेत्रमा पनि धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।








