बाँके, १० साउन ।
नरैनापुर गाउँपालिकामा भारतीय रुपियाँमा सामानको मोलमोलाई हुने गरेको छ । भारतसँग सीमा जोडिएको गाउँपालिकामा धेरै कारोवार भारतीय रुपियाँमा हुने भएकोले सामानको मोलमोलाई भारतीय रुपियाँमा हुने गरेको हो ।
नरैनापुरमा गएर खाजा खाने वा कुनै सामान किनमेल गर्ने नयाँ व्यक्ति अलमलमा पर्ने गर्दछन् । व्यापारीले भारतीय रुपियाँमा मोल गरेका कारण त्यहाँ जाने नयाँ मान्छे अलमलमा पर्ने गर्दछन् ।
नरैनापुरमा अहिले पनि भारतीय रुपियाँमा मोलमोलाई हुने गरेको मोटरसाइकल मर्मत सेन्टरका दिनेश मौर्यले बताए । उनले नेपाली रुपियाँ प्रचलनमा रहे पनि मुल्य भारतीय रुपियाँमा हुने गरेको बताए । ‘नेपाली रुपियाँ पनि लिन्छौँ, तर मोलमोलाई भारतीय रुपियाँमा मात्र हुन्छ,’ उनले भने, ‘नेपाली रुपियाँमा मोलमोलाई गर्दा महंगो भयो भनेर ग्राहक भाग्छन् । नेपाली रुपियाँमा मोलमोलाई गर्दा यहाँका ग्राहक बुझ्दैनन् ।’
नरैनापुरमा नास्ता पसल संचालन गर्दै आएका रामफेरन यादवले पनि खाजा खाएको रकम भारतीय रुपियाँमा गर्ने गरेको बताए । उनले नरैनापुर गाउँपालिकामा अझैँ भारतीय रुपियाँमा कारोवार हुने गरेको बताए । ‘पहिलेदेखि चल्दै आएको चलन अझैँ कायमै छ । भारतीय रुपियाँमा कारोवार गर्ने बानी अझैँ हटेको छैन,’ उनले भने, ‘नेपाली रुपियाँ पनि लिन्छौँ, तर भारतीय रुपियाँमा रुपान्तरण गरेर लिन्छौँ ।’
स्थानीय बासिन्दा नझुकिए पनि यहाँ जाने नयाँ व्यक्ति झुकिन्छन् । कामका शिलशिलामा नरैनापुर आएका नेपालगन्जका अभिषेक डाँगी झुकिने मध्येका एक हुन् । नरैनापुरमा खाजा खाएका उनी पसलेले भनेको रकम नेपाली रुपियाँ भएको सम्झिए, तर पसलेले उक्त रकम भारतीय रुपियाँमा भनेको उनले बताए । ‘मैले नेपाली रुपियाँमा भनेको होला भन्ने सम्झिए, तर पसलेले भारतीय रुपियाँ भनेको रहेछन्,’ उनले भने, ‘नेपाल हो नेपाली रुपियाँमा कारोवार हुन्छ भन्ने लागेको थियो, तर नेपाली रुपियाँ चले पनि भारतीय रुपियाँमा मोलमोलाई हुँदोरहेछ ।’
पहिलेको भन्दा केहि परिवर्तन भएको स्थानीय लक्ष्मीकान्त मिश्रले बताए । अघिल्लो स्थानीय निर्वाचन अघि नेपाली रुपियाँ नचले पनि अहिले नेपाली रुपियाँ चलन चल्तीमा रहेको उनले बताए । ‘पहिले नेपाली रुपियाँ चल्दैनथ्यो । अहिले चल्न थालेको छ, तर सामानको मोलमोलाई भारतीय रुपियाँमा हुन्छ,’ उनले भने, ‘पहिलेकोभन्दा धेरै सुधार भएको छ ।’
नेपालगन्जसँग सिधा सम्पर्क बढेपछि नेपाली रुपियाँको चलन चल्ती बढेको उनले बताए । ‘पहिले भारतीय बजारमा निर्भर थियौँ । सडक बनेर नेपालगन्जसँग सिधा सम्पर्क भएपछि भारतीय बजारमा किनमेल गर्ने क्रम घटेको छ,’ उनले भने, ‘भारतीय रुपियाँमा कारोवार गर्ने पहिलेदेखिको वानी हट्न नसकेकोले भारतीय रुपियाँमा मोलमोलाई हुन्छ ।’







