मोदीको इन्स्टाग्राम भिडिओले बनायो विश्व कीर्तिमान

0
4

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षाको प्रश्नपत्र लिक भएको विषयमा सरकारले के-के गर्दैछ भन्ने सन्देशसहित सार्वजनिक गरेको भिडिओले विश्व कीर्तिमान भएको छ।

मोदीले इन्स्टाग्रामबाट सार्वजनिक गरेको उक्त भिडिओ चौबिस घन्टामै ३० करोडभन्दा बढी पटक हेरिएको छ।

शनिबार दिउँसोसम्म उक्त भिडिओ ३४ करोड बढीले हेरिसकेका छन्। मोदीले पोस्ट गरेको उक्त रिल इन्स्टाग्राममा चौबीस घन्टामा सबैभन्दा धेरै हेरिएको रील बनेको भनेर भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

यसअघि यो कीर्तिमान युट्युबर आईशोस्पिड को नाममा थियो।

फिफा विश्वकपका क्रममा दक्षिण कोरियाली के–पप समूह बिटिएससँगको भेट भएको उनको रीललाई करिब ३० करोड भ्यु प्राप्त भएको थियो।

भिडियो भाइरल भएपछि मोदीको इन्स्टाग्राम खातामा एकै रात करिब १० लाख नयाँ फलोअर थपिएको पनि जनाइएको छ।

रीलले अप्रत्याशित सफलता पाएपछि मोदीले शनिबार नै अर्को भिडिओ सार्वजनिक गर्दै सबैलाई धन्यवाद दिएका छन्।

भारतमा नीट परीक्षाको प्रश्न पत्र लिक भएको घटनामा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै विद्यार्थीहरू आन्दोलन गरिरहेका छन्।

नयाँ दिल्लीको जन्तरमन्तरमा गत सोमबारदेखि सुरू भएको प्रदर्शनमा हजारौं विद्यार्थी सहभागी भएका छन्। पछिल्लो समय कलाकारहरुले पनि विद्यार्थीहरूको आन्दोलनलाई समर्थन गरिरहेका छन्।

दिल्लीमा सुरू भएको प्रदर्शन विस्तारै अन्य राज्यहरूमा पनि फैलिएको छ। यसले सरकारलाई दबाब बढ्दै गएपछि मोदीले इन्स्टाग्राममा भिडिओ सार्वजनिक गर्दै यस प्रकरणमा सरकारले अहिलेसम्म चालेको कदम र आगामी योजनाबारे जानकारी गराएका हुन्।

भिडिओमा मोदीले भनेको कुरा—

पेपर लिकको विषय सामान्य होइन। लाखौं विद्यार्थी र उनका अभिभावका लागि अत्यन्त पीडादायी विषय हो।

त्यसकारण यो घटनामा पछिल्लो साढे २ महिनामा अनेक कदम उठाइएको छ। दोषीलाई पक्राउ गरिएको छ। उनीहरू जेलमा छन्।

विद्यार्थीहरूको एक वर्ष बर्बाद नहोस् भन्ने हाम्रो महत्त्वपूर्ण चासो थियो। त्यसका लागि तत्काल परीक्षा  लिन जरूरी थियो। सरकारले पूरा शक्तिको उपयोग गर्दै कमसेकम समयमा २२ लाख विद्यार्थीहरूको परीक्षाको प्रबन्ध गरिएको थियो।

५/६ दिन अघि मात्रै १९ तारिकमा नतिजा पनि आइसकेको छ। देशभरबाट उत्तीर्ण भएका विद्यार्थीहरू खुशी भएको समाचार पनि आइरहेको छ।

तर हामी त्यत्तिमै सन्तोष मान्नेमा छैनौं। त्यसैकारण मैले आज फास्ट ट्र्याक अदालतका गठन गर्न विभागलाई निर्देशन दिएको थिएँ।

आज विभागले लगातार मेहनत गरेर मस्यौदा पनि दिएका छन्। त्‍यसमा दोषीलाई कडा सजाय हुने व्यवस्था गरिएको छ। त्यसबारे भोलि मन्त्रिपरिषदमा छलफल हुन्छ।

मन्त्रिपरिषद्को सुझावपछि त्यसलाई अन्तिम रूप दिइनेछ। सोमबारदेखि संसद पनि सुरू हुँदैछ। सदनबाट पनि सो विधेयक पारित गराउने प्रयास गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here