डा. केसीलाई आइसियूमा राखेर उपचार गरिँदै

0
4

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ। 

धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको अवस्था बिग्रिएपछि चिकित्सकको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो।

उनको आइसियुमा राखेर उपचार भइरहेको डा. केसीका सहयोगी डाक्टर अमृत जैसीले बताए।

‘अघि आधा घण्टाअघि मात्र ब्लड सुगर जाँच्दा ४९ एमजी/डिएल छ। ब्लड प्रेसर ११०/६० रहेको छ। डाक्टरहरूले आइसियूमा राखेर  मोनिटर गर्नुपर्छ भनिरहनु भएको छ,’ उनले भने।

सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका छन्।

उनका अनुसार डा. केसीको ब्लड प्रेसर पनि फ्लक्चुयट भइरहेको छ। मांसपेशीहरू बाउडिने समस्या र बोल्न पनि असहज हुने अवस्था देखा परेको छ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) मा गरिएका नियुक्ति खारेज गर्ने लगायत माग राखेर डा. केसी धनगढीमा अनसन बसेका छन्।

डाक्टर गोविन्द केसीका सहयोगी डाक्टर अमृत जैसी र शिक्षामन्त्री सस्मित पोखरेलबीच शुक्रबार साँझ कुराकानी भएको थियो। 

डा. अमृतका अनुसार शिक्षामन्त्री सस्मितले फोन गरेर डा. केसीका माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाएको बताएका थिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here