सेप्टेम्बर १७ देखि अमेरिकी विद्यार्थी भिसामा कडा नियम लागू हुँदै

0
2

बाँके, ८ साउन ।
अमेरिकी सरकारले विद्यार्थी भिसाको दुरूपयोग रोक्ने र राष्ट्रिय सुरक्षा सुदृढ बनाउने भन्दै ‘एफ’ र ‘जे’ श्रेणीका विद्यार्थी भिसा सम्बन्धी नयाँ नियम आगामी सेप्टेम्बर १७ देखि लागू गर्ने भएको छ। 
न्यूयोर्कमा रहेका कानुन व्यवसायी बासु फुलाराका अनुसार नयाँ व्यवस्था हाल अमेरिकामा अध्ययनरत विद्यार्थीहरूमा समेत लागू हुनेछ।
यसअघि विद्यार्थीहरूलाई आफ्नो अध्ययन कार्यक्रम पूरा नहुँदासम्म अमेरिकामा बस्न अनुमति दिइने भएकाले कतिपयले कलेज र अध्ययन कार्यक्रम परिवर्तन गर्दै ८–१० वर्षसम्म पनि विद्यार्थी भिसामै बस्ने गरेका थिए।
अब भने अध्ययनका लागि दिइने बसाइँ अवधि चार वर्षभन्दा बढी हुने छैन। यद्यपी सबैलाई चार वर्ष नै दिइने भने होइन।
अध्यागमन अधिकारीले विद्यार्थीको अध्ययन कार्यक्रमको अवधि हेरेर बस्न पाउने समय निर्धारण गर्नेछन्। उदाहरणका लागि दुई वर्षको मास्टर्स अध्ययनका लागि दुई वर्षकै अवधि तोकिन सक्छ।
‘अध्ययन अवधि सकिएपछि अमेरिकामा बस्न पाइने समय पनि घटाइएको छ। यसअघि अध्ययन पूरा भएपछि ६० दिनसम्म बस्न पाइने व्यवस्था रहेकामा अब ३० दिनभित्र अमेरिका छोड्नुपर्नेछ’, उनले भने, ‘अध्ययनपछि वैकल्पिक प्रयोगात्मक तालिम (ओपिटी) गर्न चाहने विद्यार्थीले भने तोकिएको समयमै आवेदन दिनुपर्नेछ। नयाँ व्यवस्थाले कलेज तथा अध्ययन कार्यक्रम परिवर्तनमा पनि कडाइ गरेको छ।’ 
अब कलेज परिवर्तन गर्नुपरेमा होमल्यान्ड सेक्युरिटीको अनुमति आवश्यक पर्ने भन्दै फुलाराले एउटै तहमा पटक–पटक अध्ययन गर्ने, कलेज परिवर्तन गर्दै बसाइँ लम्ब्याउने वा एउटा स्नातक (ब्याचलर) सकेर फेरि अर्को स्नातक कार्यक्रममा भर्ना हुने अभ्यासलाई पनि कडाइ हुने बताए।
स्नातकबाट स्नातकोत्तर वा स्नातकोत्तरबाट विद्यावारिधि (पिएचडी) मा जानुपरे पनि आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति लिनुपर्ने उनको भनाइ छ।
‘कुनै कारणले तोकिएको समयमा अध्ययन पूरा गर्न नसकेमा समय सकिनुअघि नै होमल्यान्ड सेक्युरिटीमा आवश्यक प्रक्रिया पूरा गरी उचित कारणसहित अवधि थप्न अनुरोध गर्नुपर्नेछ। परीक्षा फेल भएको वा पढाइ पूरा गर्न नसकेको कारणले मात्र समय थप्न पाइँदैन,’ फुलाराले भने, ‘कलेजको स्वीकृति र आवश्यक कागजातका आधारमा मात्र थप समय पाउन सकिनेछ। नयाँ नियम हाल अमेरिकामा अध्ययनरत विद्यार्थीहरूमा पनि लागू हुनेछ। उदाहरणका लागि तीन वर्षअघि अमेरिका पुगेका विद्यार्थीका हकमा पनि चार वर्षे व्यवस्थालाई नै आधार मानिनेछ।’
यस्तै, अमेरिकामा कुनै व्यक्तिको भिसा सम्बन्धी प्रक्रिया विचाराधीन रहेको अवस्थामा उसले अमेरिका छाडेमा सम्बन्धित भिसा स्वतः रद्द हुने व्यवस्था पनि यथावत् रहने उनले बताए।
सरकारले विद्यार्थी भिसामा लामो समय बस्ने, गैरकानुनी रूपमा लुक्ने तथा भिसाको दुरूपयोग बढ्दै गएको निष्कर्ष निकाल्दै नयाँ व्यवस्था ल्याएको भन्दै उनले यस नियमको विरोध भए पनि सरकारले सेप्टेम्बर १७ देखि कार्यान्वयन गर्ने तयारी गरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here