पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो- आइजिपी कार्की

0
6

काठमाडौं, ८ साउन ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्। 
सिंहदरबारमा शुक्रबार आयोजित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नुपरेका समस्याबारे जानकारी गराए।
महानिरीक्षक कार्कीका अनुसार पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको छ।
उनले भने, ‘सीमावर्ती क्षेत्रको सुरक्षाका सन्दर्भमा रोहिङ्ग्या शरणार्थीको विषय पनि चुनौतीका रूपमा देखिएको छ। भारततर्फबाट नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोवास गर्ने प्रयास गर्ने रोहिङ्ग्यासहित अन्य देशका नागरिकलाई पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको छ। उनीहरूमध्ये केही लागुऔषध कारोबारजस्ता अपराधमा संलग्न रहेको पाइएको छ। हालै दक्षिणी सीमामा मल खरिद–बिक्रीसँग सम्बन्धित तस्करी प्रकरणमा पक्राउ परेका नेपाली नागरिकको विषयमा प्रहरी–प्रहरी समन्वय र कूटनीतिक पहलमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ।’
नेपालका विभिन्न स्थानमा समूह बनाएर बस्ने गरेका यस्ता व्यक्तिहरू लागुऔषध कारोबार लगायतका सुरक्षा संवेदनशीलता उत्पन्न गर्ने क्रियाकलापमा संलग्न रहेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको छ।
बैठकमा उनले दक्षिण सीमाबाट मल खरिद गर्ने क्रममा केही नेपालीहरू तस्करीको अभियोगमा भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी दिए। 
यस विषयमा ‘पुलिस टू पुलिस’ समन्वय र कूटनीतिक प्रयास भइरहेको र कानूनी प्रक्रिया पूरा गरी उनीहरू छिट्टै रिहा हुने अवस्थामा रहेको उनले बताए।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here