बाँके, २६ भाद्र ।
नरैनापुर गाउँपालिकामा अपाङ्गता भएकाहरुको परिचय–पत्र वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएकाेछ । वर्ल्ड भिजन र एसडिएफको सहयोगमा हातेमालाे परियाेजना अन्तर्गत भएको परिचय पत्र वितरण तथा स्वास्थ्य परीक्षण गरिएको हो । नरैनापुर गाउँपालिका वडा नं. ४, ५ र ६ का सर्वसाधारणलाई लक्षित गरि वडा नम्बर ५ मटेहियामा शिविर बिहिवार आयोजना गरिएको थियाे ।
अपाङ्गता भएकाहरुलाई गाउँमै परिचय पत्र उपलब्ध गराउने उद्देश्यले संचालन भएको शिविरमा २८ जना अपाङ्गता भएकालाई परिचय–पत्र प्रदान गरिएको वर्ल्ड भिजनका कार्यक्रम संयोजक विर्जेन्द्र कुमार यादवले जानकारी दिए । ‘वडा कार्यालय र पालिकामा गएर परिचय पत्र बनाउन नसक्नेलाई गाउँमै सेवा उपलब्ध गराउन शिविर संचालन गरिएको हो,’ संयाेजक यादवले गाेचाली खबर लाई बताए।
उनका अनुसार अनुसार, स्वास्थ्य शिविरमा ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क औषधि समेत प्रदान गरिएको यादवले बताए । ‘जटिल रोगका विरामीहरुलाई भेरी अस्पताल र अन्य अस्पतालमा रेफर गरिएको छ,’ उनले भने ।
२४ भाद्र बुधवार नरैनापुर गाउँपालिका वडा नम्बर १,२ र ३ मा पनि अपाङ्गता परिचय पत्र वितरण र स्वास्थ्य शिविर आयोजना गरिएकाे उनले जानकारी दिए ।







