नेपालगन्जका निवर्तमान वडाअध्यक्षद्वारा बाढी पीडितलाई डेढ लाख सहयोग

0
7

बाँके, १४ भाद्र ।
नेपालगन्ज उपमहानगरपालिका ४ का निवर्तमान वडाअध्यक्ष मोहम्मद सफिक वेहनाले भोटेकोसीमा आएको बाढीपीडितलाई एक लाख ५१ हजार एक सय रुपियाँ सहयोग गरेका छन् । बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरेका हुन् ।
उनले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत रकम जम्मा गरेको बताए । ‘देशलाई दुख परेको बेला नेपाली भएको नाताले आर्थिक सहयोग गर्ने मेरो पनि दायित्व हुन आउँछ,’ उनले भने, ‘आफ्नो हैसियत अनुसार सहयोग गर्न म अपिल गर्न गर्दछु ।’
समाजसेवी बेहनाले मानवीय सेवाभाव, उदारता र सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए । नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य एवम् नेपाल मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष बेहनाले आफ्नो व्यक्तिगत खर्च कटाएर उक्त रकम प्रदान गरेको जानकारी दिए । भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी (पुर्व) लगायत जिल्लामा ठुलो जनधनको क्षति भएको छ ।