इरानविरुद्ध थप सैन्य आक्रमण तत्काल नबढाउने ट्रम्पको निर्णय
काठमाडौ, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानविरुद्ध थप सैन्य कारबाही अघि नबढाउने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
द न्युयोर्क टाइम्स, सिएनएन र एसोसिएटेड प्रेस (एपी) लगायतका सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले हालका लागि इरानमाथि नयाँ आक्रमण नगर्ने निर्णय गरेको हो।
यो निर्णय अमेरिकाले करिब दुई सातापछि पहिलोपटक गत शुक्रबार राति इरानमाथि हवाई आक्रमण गरेपछि आएको हो। शनिबार रातिसम्म भने इरानमाथि कुनै नयाँ अमेरिकी सैन्य आक्रमण भएको विवरण सार्वजनिक भएको छैन।
रिपोर्टअनुसार ट्रम्प प्रशासनले शुक्रबार नै सैन्य कारबाही विस्तार नगर्ने निर्णय गरेको थियो। यसको मुख्य कारणमध्ये अमेरिकासँग रहेको प्याट्रियट वायु रक्षा प्रणालीका मिसाइलहरूको मौज्दात घट्दै जानुलाई उल्लेख गरिएको छ।
त्यसैगरी, फारसको खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी अरब राष्ट्रहरूमा सम्भावित असन्तुष्टिलाई लिएर पनि प्रशासन चिन्तित रहेको बताइएको छ।
यद्यपि, ह्वाइट हाउसले यी रिपोर्टहरूको आधिकारिक पुष्टि गरेको छैन। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले सधैँ कूटनीतिक समाधानलाई प्राथमिकता दिँदै आएको जनाएको छ।







